कावासोती, १७ साउन । नवलपरासीमा ११ वटा पालिका हुने भएको छ । राज्यको नयां संरचना अनुसार नवलपरासीमा बढीमा ११ वटा पालिका हुने व्यवस्था गरिएको छ ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति नवलपरासीको आयोजनामा कावासोतीमा भएको कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
कार्यक्रममा जिल्ला विकास समिति नवलपरासीका प्रशासकीय अधिकृत प्रकाश पन्थीले राज्यको नयां संरचना अनुसार गाउंपालिका र नगरपालिका कसरी गठन गर्न सकिन्छ, यसका अधिकार के हो भन्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।
स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नवलपरासीका राजनीतिक दलका प्रतिनिधिहरु, पूर्व सभासद्, नगरपालिका तथा गाविसका प्रमुखहरु ल्गायतका सहभागिता रहेको थियो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार अहिले गाउंपालिका र नगरपालिकाका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको र अर्को पटक गाउं पालिका र नगरपालिकाको सिमांकन र नशांकन गर्ने बताइएको थियो ।
पछिल्लो मापदण्द अनुसार हिमालमा गाउंपालिकाका लागि १५ हजार नगरपालिकाका लागि २० हजार जनसंख्या हुनु पर्ने प्रावधान तय गरिएको हो । हिमालको पहाडी भुभाग, पहाड, भित्री मधेषको पहाडी भुभागमा गाउ“पालिका हुन २५ हजार, नगरपालिका हुने ३५ हजार जनसंख्या हुनु पर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी भित्री मधेषको समथर भूभाग र तराईमा गाउ“पालिका हुन ५० हजार र नगरपालिका हुन ७५ हजार जनसंख्या हुनु पर्ने व्यवस्था गरिएकोछ । त्यस्तै उपमहानगरपालिकाका लागि १ लाख ५० हजार, महानगरपालिकाका लागि ३ लाख जनसंख्या हुनु पर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी सदरमुकाम राख्ने नगरपालिका हुनमा पहाडी जिल्लामा ४५ हजार, काठमाडौं उपत्यका, तराई र भित्री मधेष जिल्लाका नगरपालिकाहरुमा ९५ हजार जनसंख्या हुनुपर्ने व्यवस्था गरिएको छ ।
नवलपरासीमा हाल ७ वटा नगरपालिका र ५६ वटा गाविसहरु रहेका छन् । त्यसैगरी परासी क्षेत्रका लागि भोलि सुनवलमा अन्तरक्रिया हुने जनाइएको छ ।

Post a Comment