Wednesday, May 23, 2018

नवलपुरमा छिट्टै बालकल्याण समिति गठन हुने

नवलपुर । पूर्वी नवलपरासी अर्थात नवलपुरमा अव छिटै नै जिल्ला बाल कल्याण समितिको समेत गठन गरिने प्रमुख जिल्ला अधिकारी महेश आचार्यले बताउनु भएको छ ।
    बालसंरक्षण घटना व्यवस्थापन तालिम कार्यक्रमको समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले बालकल्याण समिति नवलपुरमा छिट्टै गठन गरिने बताउनुभएको हो ।
उहांले बालबालिकाहरु भनेका बर्तमानका साझेदार र भविष्यका कर्णधारहरु समेत भएको र जनप्रतिनिधीहरु समेत आईसकेको अवस्थामा बाल संरक्षण प्रणालीलाई स्थानीय तहसम्म नै पुर्याउनको लागि समेत यसको आवश्यकतामा जोड दिनुभयो ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी नै बालकल्याण समितिको संयोजक रहने प्रावधान रहेको छ ।
कावासोतीमा सञ्चालन भएको ३ दिने तालिममा नवलपुरका बालअधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुका प्रतिनिधीहरु, स्थानीय तहका महिला तथा बालबालिका शाखाका फोकल पर्सनहरु, जिल्ला बालक्लव सञ्जालका पदाधिकारीहरु, महिला सहकारी, क्रियाशिल पत्रकार महिला समुह लगायतको सहभागिता रहेको थियो ।
तालिममा बालबालिकाहरुमा हुन सक्ने बिभिन्न किसिमका हिंसा, दृव्र्यवहार र जोखीमहरुबाट तत्काल र दिर्घकालसम्म पनि राहत र पुर्नस्थापनाको लागि गरिनुपर्ने बिभिन्न चरणहरु, बालबालिकाहरुको मुद्दामा सञ्चारकर्मी र सञ्चारमध्यमले ध्यान दिनुपर्ने विषयहरु, नवलपरासीमा बालबालिकाहरुको अवस्था र यसको व्यवस्थापन लगायतका विषयमा केन्द्रीय बालकल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति मिठु आचार्य, उर्वरा लुईटेलले सहजीकरण गर्नुभएको थियो ।
आज भएको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुन, गैरसरकारी संस्था महासंघ नवलपरासीका अध्यक्ष बद्रीनाथ नेपाल लगायतले बालअधिकारको पक्षमा आफूहरु लाग्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
समापन कार्यक्रममा २ वर्ष अघि बलात्कारको शिकार हुन पुगेकी कावासोतीकी बालिकालाई शिक्षा, आयआर्जन र अन्य प्रयोजनको लागि केन्द्रीय बाल कल्याण समितिको तर्फबाट दश हजार हजार रुपैयां बालिका अधिकार संरक्षण संघर्ष समितिका अध्यक्ष सरिता लामिछानेलाई हस्तान्तरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका जिल्ला कार्यक्रम संयोजक दिपक शर्माले बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal