Monday, October 31, 2016

नेपालको आफ्नै संवत् नेपाल संवत्

रामकुमार श्रेष्ठ

रामकुमार श्रेष्ठ


 

पृष्ठभूमी:

नेपालमा अहिले विक्रम संवत् प्रचलनमा रहेको छ। सरकारी कामकाजका लागि यो संवत अहिले प्रचलनमा रहेको छ । तथापि नेपालको आफ्नो मौलिक संवत भनेको नेपाल संवत हो।
नेपाल संवत नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात चन्द्रमासमा आधारित साल हो। विशेषतः नेवार समुदायले अहिले बढी मान्दै आएको यो संवत नेपालको मौलिक संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत थालिएको हो। नेपाल सम्वत ११३७ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालयहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। यो संवतको पहिलो दिन विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ ।

इतिहास:

पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।
अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाहा भयो । उनीहरूले जालसाझी गरेर राजालाई त्यसले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले। पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो। राजाले पश्चताप गर्दै ‘तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने। गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे। सबै जनताको ऋण मोचन भयो। त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ।

नेपालमा प्रचलनमा ल्याइएका संवतहरु:

नेपालको प्रारम्भिक इतिहास अत्यन्तै अस्पष्ट र अनुमान तथा किम्वदन्तीहरुले भरिएको छ। किरात कालमा नेपालमा कुन संवत प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन। लिच्छवी शासनको प्रारम्भसंगै नेपालमा निम्न संवतहरुलाई प्रचलनमा ल्याइएको पाइएको छ। शक संवतः भारतका शक वंशीय शासकहरुको नामबाट चलाइएको संवत हो जुन आज पनि भारतमा राष्ट्रिय संवतको रुपमा प्रचलनमा छ। अहिले शक संवत १९३८ हो। नेपालमा यस संवतको प्रारम्भिक प्रयोग ५२७ वर्ष (ई.सं. ६०५) सम्म कायम रहृयो। त्यसपछि महासामन्त अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा मानदेव संवत चलाए जुन २७६ वर्ष (ई.सं. ८८१) सम्म प्रचलनमा रह्यो। त्यसपछि राजा राघवदेवको पालामा नेपाल संवत चलाइयो जुन ८८८ वर्ष (ई.सं. १७६९) सम्म अविछिन्न रुपमा प्रचलनमा रह्यो। नेपाल संवत ८८८ अर्थात ई.सं. १७६९ मा नेपाल माथि विजय प्राप्त गरे पछि गोर्खाली राजा पृथ्वीनारायण शाहले शक संवतलाई पुनः प्रचलनमा ल्याए जुन १३२ (ई.सं. १९०१) सम्म कायम रह्यो। त्यस पछि राणा प्रधानमन्त्री चन्द्र शमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा बिक्रमादित्यको नाममा चलाइएको बिक्रम संवत प्रचलनमा ल्याए जुन आजसम्म कायमै छ। अहिले बिक्रम संवत २०७३ हो। नेपालमा बिक्रम संवतले सरकारी मान्यता पाएको ११५ वर्षमात्र भएको छ ।

हालको प्रयोगः

आधिकारिक रूपमा प्रयोग नभए तापनि नेपाल सम्वत जनमासमा प्रचलित छ। नेपालको प्रायः चाड तथा जन्मदिन चन्द्रसम्बतको आधारमा मनाउने हुनाले यसको प्रचलन व्याप्त छ। नेवार समुदायले यो सम्बत धेरै प्रयोग गर्दछन्।

नेपाल संवत प्रादुर्भाव प्रसंगको आलोचना

ऋणमा डुबेका जनतालाई ऋणबाट मोचन गरेको महान उपलक्ष्यमा देशभक्तिको अनुपम नमुना स्वरुप स्थापित नेपाल संवतको प्रादुर्भावको प्रसंग आलोचनाबाट मुक्त छैन । यसका आलोचकहरु के आरोप लगाउँछन् भने मध्यरातमा मन्त्र फुकेर निकाल्दैमा खोलाको बालुवा सुनमा बदलिन्छ भन्नु मानिसलाई मूर्ख बनाउनु मात्र हो। राजा जनकले हलो जोत्दा खेतको माटो मुनिबाट शिला निस्के झैं निस्केकी सीताको अस्तित्व स्वीकार गरी उनलाई पूजा समेत गर्ने, गोरखनाथले छादेको बान्ता खान नमानेको तर सो बान्ता खुट्टामा लागेकोले पृथ्वीनारायण शाह विश्वको चक्रवर्ती सम्राट हुनुको सट्टा नेपालको मात्र राजा बने भनेर नथाक्ने यी महानुभावहरुले खोलाको बालुवाबाट सुनका कण संकलन गर्न सकिने सत्यलाई स्वीकार नगर्नु आश्चर्यजनक छ।
हो, कथामा भनिए जस्तै शंखधर साख्वाको घरमा लगिएको सम्पूर्ण बालुवा सुनमा परिणत भएको भन्ने कुरा माथि शंका गर्ने ठाउँ छ। तर त्यस बालुवामा सुनका कणहरु हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न। नेपालकै बोटे जातिका कतिपय मानिसहरु आज पनि खोलाको बालुवाबाट सुनको कण छानेर आय आर्जन गरी जीविका चलाइरहेको छन् भने त्यस बेलाको लखुतिर्थको बालुवामा सुनका कण पाइनु आश्चर्यको कुरा होइन। अहिले पो प्रदूषणले गर्दा त्यसमा सुनका कणको सट्टा अर्कै पहेंलों कुरा बग्छ। हिउँको सेतै लेदो बग्ने हुँदा सेती नदी भनिए जस्तै सुन पाइने भएरै पाटनको एउटा वस्तीका नामै लुँखुसि (सुनको नदी) नामाकरण गरिएको हुनु पर्छ । सुन पाइने वा सुनौलो बालुवा भएको कारणले सुनकोशीको नाम सुनकोशी राखिएको हुन सक्छ ।

नेपाल संवत प्रादुर्भावलाई हेर्ने सही दृष्टिकोण

कुनै पनि कुरालाई जुन रुपमा प्रस्तुत गरिएको छ त्यसै अनुरुप मात्र बुझदा त्यो बुझाई एकाँगी र अपूरो हुन जान्छ। प्रत्येक कुराको अध्ययन त्यसको ऐतिहासिकता र द्वन्दात्मकताको आलोकमा गरिनुपर्छ। त्यसपछि मात्र त्यसको सहि बुझाई वा निष्कर्षमा पुग्न सकिन्छ। नेपाल संवत लिच्छवी राजा मानदेव द्वितीयको नाममा प्रचलित मानदेव संवतलाई निषेध गरी आएको संवत हो। के शंखधर शाख्वाले प्रजाहरुको ऋण तिरिदिएकै कारण उनको इच्छा बमोजिम राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित मानदेव संवत्लाई खुसुक्क प्रतिसंहरण गरी लुसुक्क नेपाल संवत् प्रचलनमा ल्याएको घोषणा गरेका होलान्। यस अहं प्रश्नको उत्तर खोजी गर्ने क्रममा त्यसको ऐतिहासिकता र द्वन्द्वतात्मकताको आधारमा नेपाल संवत्लाई बुझ्दा त्यसको प्रादुर्भावका वास्तविक कारण बारे एउटा अलग्गै अन्तरकथा प्रस्तुत हुन आउँछ ।
एकजना प्रजाले अर्को प्रजालाई तिर्नु पर्ने ऋणसंग राजा राघवदेवलाई र उनको राज्यसंयन्त्रलाई केको चासो। त्यसैले शंखधर साख्वाले तिरिदिएको ऋण प्रजाप्रजा बीचको ऋण नभएर राज्यलाई तिर्नु पर्ने कर र जरिवाना भन्ने बुझिन्छ। शासक र शासितबीच नरमगरम द्वन्द्व चलिरहनु राज्य संचालनको सामान्य प्रकृया नै हो। रातीराती विष्णुमति पारी गएर ज्यामीहरुले लखुतिर्थबाट सुनयुक्त बालुवा निकाली शंखधर साख्वाको घरमा संकलन गर्नुलाई राज्यलाई तिर्नु पर्ने चर्को कर र जरिवानाबाट पीडित प्रजाहरु भूमिगत रुपमा संगठित भएको, विद्रोह गर्न अर्थ संकलन गरेको र ती सबैलाई शंखधर साख्वाले संयोजन वा नेतृत्व गरेको सजिलै अनुमान गर्न सकिन्छ। यसरी पीडित प्रजाहरुको संगठित बल र संकलित अर्थ सहित आएका शंखधर साख्वाको प्रचण्ड दवावका अगाडि राजा राघवदेव झुक्न र प्रजाको माग बमोजिम नेपाल संवत घोषणा गर्न वाध्य भएको प्रतित हुन आउँछ।
राजनीतिक दृष्टिकोणले हेर्दा शंखधर साख्वाले प्रजाहरुको ऋण तिरिदिएको घटनाले त्यति महत्व राख्दैन जति त्यसमा अन्तरनिहित देशप्रेम, राष्ट्रियताको भावना र जनताको संगठित बलले सामन्ती राज्यसत्तालाई झुकाउन सफल भएको कुराले महत्व राख्दछ। यस अर्थमा शंखधर साख्वालाई नेपाल संवतका प्रवर्तक मात्र होइन नेपालका प्रथम देशभक्त एवं राष्ट्रवादी जननेता मान्दा अतिसयोक्ति हुने छैन। देशको क्षेत्रफल बढे तापनि नेपाल संवत माथि प्रतिवन्ध लागेदेखि नेपालको राष्ट्रियता कुण्ठित भएको छ। र्सवसमावेशी नेपाली समाज निर्माणको महान प्रकृया अवरुद्ध भएर नेपालको शासनसत्तामा एउटा खास जातिको प्रभूत्व कायम भएको छ। त्यसको विरुद्ध आज देशमा गणतन्त्रको स्थापना र सबै जातिको समानुपातिक प्रतिनिधित्व तथा सहभागिता सहितको राज्य संरचना खोजिरहेका शक्तिहरुका लागि नेपाल संवत प्रादुर्भावको अन्तरकथा एउटा गतिलो सन्देश हुन सक्छ ।

नेपाल संवत र नेपालको सामाजिक जीवन

नेपालका केही अल्पसंख्यक धार्मिक वा जातीय समूहहरु बाहेक नेपाली जनताको अत्यधिक बहुसंख्याको धार्मिक, साँस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपछि समेतको कार्यमा नेपाल संवत अक्षुण र अभिन्न रुपले गाँसिएको छ। हाम्रा बच्चाका पास्नीका साइतहरु, विवाह तथा व्रतवन्धका साइतहरु नेपाल संवतको तिथि बमोजिम तय गरिन्छन्। हामीले मनाउने जन्मोत्सवहरु, जीवित पुर्खाका जङक्वहरु (बुढा पास्नीहरु) नेपाल संवतकै तिथि अनुसार मनाइन्छन्। मृत पुर्खाका नाममा गरिने श्राद्ध, तर्पण, पिण्डपानी अर्पण गर्ने कार्यहरु नेपाल संवतकै तिथिको आधारमा गरिन्छन्। साउने संक्रान्ति, माघे संक्रान्ति जस्ता केही अपवादलाई छोडेर संस्कृतिका धनी हामी नेपालीका असंख्य चार्डपर्वहरु नेपाल संवतकै तिथि अनुसार मनाइन्छन्। हाम्रा अधिकाँश चार्डपर्वहरु धर्मसंग गाँसिएका छन्। तर्सथ हाम्रा सम्पूर्ण धार्मिक कार्यहरु र चाडवपर्वहरु पनि नेपाल संवतकै तिथि अनुसार मनाइन्छन्।

राज्यले गर्नुपर्ने व्यवहार

राज्यले नेपाल संवत्लाई राष्ट्रिय संवतको मान्यता दिनुपर्दछ । यसलाई सरकारले राष्ट्रिय सम्वतको मान्यता दिएझै गरेपनि अझै चलन चल्तीमा आएको छैन । नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूतिको सम्मान दिएर राज्यले उनीमाथि केही सम्मान गरेको भएपनि यसलाई सार्थकतादिने काममा भने अझै चुकेको छ। नेपाल संवत कुनै जाति विशेषको एकलौटी पेवा होइन, सम्पूर्ण नेपाली जनताको साझा सम्पति हो। कुनै चिजलाई राष्ट्रिय मान्यता दिलाउने जस्तो महान काममा सबै जातजातिको सहमति, सहयोग र सहभागिता हुनु पर्ने हो। तर नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिनु पर्छ भनी आन्दोलित हुनेहरुमा नेवार जातिका मानिसहरुको बाहुल्यता रहँदै आएको छ। यसले जनमानसमा उनीहरुको माग विशुद्ध नेवारहरुको मात्र माग हो कि भन्ने भ्रम सिर्जना हुन पुगेको छ। यो नेपाल संवत पक्षधर आन्दोलनकारीहरुको यो ठूलो कमजोरी हो। राम्रो काम गर्छु भन्नेहरुले त्यसको सबै जस आफूले पाउने नियतले होइन, सबैलाई समेटेर हिंड्न सक्नु पर्छ ।

महिनाहरू

कछलाः– नेपाल सम्वतको पहिलो महिनालाई करुणामयलापनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सुर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
थिंलाः– सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लड्ड हुने महिना भनिन्छ ।
पोँहेलाः– पोँ असिना र हिउ पर्ने जाडो महिना भनिन्छ ।
पहिला पहिला बिफरले मानिसहरुलाई सताउथ्यो, त्यसैले सितला माईको पूजा गर्दथ्यो, जसबाट सिल्ला हुन गयो । यो महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
चिल्लाः– चिरस्वायगुला, फागु पुर्णिमा, बसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
च्वलाः–बिक्रम सम्वतको पहिलो महिना मानिन्छ ।
तँछलाः– तथागतछला भन्न सकिन्छ तथागत भनेको बुद्ध हो । बुद्ध सम्वतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
देल्लाः– आजकाल दिल्ला भनिन्छ। यो देश भरी रोपाई गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण महिना भएकोले देला (दे भनेको देश हो)। भनिएको हो।
गुँलाः– गुँला भनेको सुनसान ठाउँ जहाँ पुर्खाहरु बसोबास गर्दछन भन्ने कथन छ। त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपुर्णिमा जूतो घर पबित्र गर्नेको रुपमा लिईन्छ।
ञलाः– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा ईन्द्रजात्रा गर्दछ ।
कौलाः– कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।

(दाउन्ने साप्ताहिकबाट)


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal