Tuesday, May 15, 2018

नयाँ शक्ति प्यूठानले तोक्यो स्थानीय तहहरुमा ईन्चार्ज

 १ जेठ, २०७५
प्यूठान – नयाँ शक्ति पार्टी, नेपाल जिल्ला समन्वय समिति प्यूठानको विस्तारित बैठक सम्पन्न भएको छ । मंगलबार प्यूठानको बिजुवारमा सम्पन्न बैठकले जिल्ला अन्तर्गतका स्थानीय तहहरुमा पार्टी ईन्चार्ज तथा वैकल्पिक नगरपालिका तथा गाउँपालिका प्रमुखको चयन गरेको छ । बैठकले जेठ १५ भित्र जिल्ला अन्तर्गतका स्थानीय तहहरुको भेला सम्पन्न गर्ने र जेठ ३० गतेभित्र सदस्यता अध्यावधिक गर्ने कार्यतालिका तय गरेको छ ।
बैठकले जिल्ला अन्तर्गतका विभिन्न स्थानीय तहहरुमा पार्टी ईन्चार्ज चयन गरेको छ । जस अन्तर्गत प्यूठान र स्वर्गद्वारी नगरपालिका ईन्चार्जमा श्यामलाल गहतराज, गौमुखी गाउँपालिकाको ईन्चार्जमा देवेन्द्र पुरी, झिम्रुक गाउँपालिकामा चुमान सिंह पुन, नौबहिनी गाउँपालिकामा केशव केसी, ऐरावती गापामा शुसील गुरुङ, सरुमारानी गापामा केशव गुरुङ, मण्डवी गापामा गिरीराज अधिकारीलाई ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।
त्यसैगरी स्थानीय तहमा संचालन हुने विकास निर्माणका गतिविधिहरुको निगरानीका लागि वैकल्पिक नगर तथा गाउँपालिकाहरु प्रमुखसमेत तोकेको छ । जसअन्तर्गत प्यूठान नगरपालिका ऋषिराम भण्डारी र गौमुखी गाउँपालिका प्रमुखमा सोनु कुमार सुनारलार्ई जिम्मेवारी तोकेको छ ।
त्यसैगरी बैठकले केही विभागहरु पुनर्गठन गरेको छ । जसमा उत्पादन तथा स्वरोजगार विभागको प्रमुखमा हिमन्ता गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा राम बहादुर विक र दलित तथा अल्पसंख्यक विभाग प्रमुखमा सोनु कुमार सुनारलाई जिम्मेवारी प्रदान गरेको जिल्ला ईन्चार्ज जी एस् गुरुङले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका ईन्चार्ज नवराज सुवेदीले नयाँ शक्ति पार्टीले सत्तामा रहेका राजनीतिक दलहरुले चुनावमा गरेका बाचाविपरित आफ्नै सेवा सुविधा वृद्धि गर्ने र राज्य सत्तालाई दोहन गर्ने दिशातर्फ उन्मुख भइरहेकोले नयाँ शक्तिले त्यसको निगरानी गरी नागरिकलाई सुसुचित गर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुको पहिचान दलको दृष्टिकोण र विचारमा हुने भएकोले नयाँ शक्तिले स्पष्ट रुपमा समुन्नत समाजवादको विचार अंगिकार गरेर अघि बढेको बताउँदै नेपाली कांग्रेस पनि आन्तरिक भुमरीमा परेकाले यो देशमा वैकल्पिक राजनीतिक पार्टीको खाँचो रहेको र त्यसको पूर्ति गर्नका लागि नयाँ शक्ति उदाएको बताउनुभयो ।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का प्रवक्ता मनिकर कार्कीले पुराना पार्टीहरुले जनताको न्यूनतम् आवश्यकता पनि पूरा गर्न नसकेकाले अब बदलिएको राजनीतिक गन्तव्यसँगै नागरिकका आवश्यकता पूरा गर्ने देश विकास, समृद्धि र प्रगतिको लक्ष्य बोकेर नयाँ शक्ति पार्टी संगठन विस्तारमा अगाडि बढेको बताउनुभयो ।
उहाँले नयाँ शक्तिले अगाडि सारेको ‘५ स’को अवधारणमार्फत नै समाजको बदलिएको अन्तरविरोधको हल हुने र मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो । उहाँले शक्ति आर्जनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, विदेशमा बस्ने ६५ लाख नेपालीलाई मताधिकारको व्यवस्था, भ्रष्टाचार र अनियमितताको भण्डाफोर, सुशासन र सुसंस्कृति राजनीतिको प्रवद्र्धन, प्रगति र समृद्धिमुखी राजनीति नै नेपाली समाजको वैकल्पिक राजनीतिक एजेण्डा भएको बताउनुभयो ।
त्यसैगरी नयाँ शक्तिका प्रदेश ५ का वैकल्पिक सरकार प्रमुख कर्णध्वज केसीले नयाँ शक्ति पार्टीले स्थानीय तहमा भएका भ्रष्टाचार तथा आर्थिक अनियमितताको भण्डाभोर गरी आम नागरिकलाई सूचित र जागरुक बनाउन स्थानीय तहहरुमा वैकल्पिक प्रमुखको व्यवस्था नीति अवलम्बन गरेको बताउनुभयो ।
पार्टीकै प्रदेश ५ का उत्पादन तथा स्वरोजगार विभाग प्रमुख हरि रिजालले उद्यमशीलताको विकासले नै मुलुक समृद्ध हुने बताउँदै जबसम्म नेपाली पासपार्टको भ्यालु बढ्दैन, व्यक्तिगत तवरबाट हासिल गरिने समृद्धिले मुलुकको उन्नति नहुने बताउनुभयो । देशको हैसियत माथि नउठ्दासम्म व्यक्तिको हैसियत नउठ्ने बताउँदै नयाँ शक्ति सरकार बाहिर रहँदा पनि उत्पादनशील क्षेत्रमा आवद्ध हुने बताउनुभयो ।
जिल्ला संयोजक दामोदर गिरीको अध्यक्षता एवं ईन्चार्ज जि एस् गुरुङको संचालनमा सम्पन्न बैठकमा सहभागीहरुले रिपोर्टिङसहितको धारणा राख्नुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal