Thursday, November 17, 2016

उखुको मूल्य अझै निर्धारण भएन

नवलपरासी, २ मंसिर । यस बर्षको उखुको मूल्य अझै पनि निर्धारण हुन सकेको छैन् ।
मंसिरको पहिलो साताबाट अर्थात अबको केही दिनबाट उखु क्रसिङ्ग सुरु गर्नु पर्ने भएपनि अझै मूल्य निर्धारण नहुंदा यस बर्ष पनि किसानहरु मारमा पर्ने देखिएका छन् ।
घरमा पैसा अत्यावश्यक भएका केही किसानहरुले सस्तोमा भेली उद्योगहरुलाई उखु विक्री समेत गर्न थालेका छन् ।
भेली उद्योगलाई उखु बेच्दा किसानहरुले सस्तोमा उखु बेच्न बाध्य हुने गर्दछन् । नवलपरासीमा २ सय बढी भेली उद्योगहरु रहेका छन् ।
अहिले भेलि उद्योगहरुले किसानहरुसंग प्रतिक्विन्टल ३ सय ८० रुपैयांदेखि ४ सय रुपैयांका दरले उखु खरिद गरेका छन् । 
गत बर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ४८ रुपैयां रहेको थियो। यस बर्ष उखु किसान महासंघले प्रति क्विन्टल ५ सय ६१ रुपैयां हुनु पर्ने माग राखेका छन् भने चिनी मिल सञ्चालकहरुले चार सय ९२ रुपैयां दिन सक्ने जनाएका उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।
यादवका अनुसार करिब दुई साता अघि किसान महासंघ र चिनी उद्योगीबीच बसेको वैठकमा उखुको मूल्य निर्धारण हुन सकेको थिएन । त्यसैगरी केही दिन पछि उखुको मूल्य निर्धारण गर्न पुन वैठक बस्ने तयारी रहेको उनले बताए ।
नवलपरासीमा चार वटा चिनी मिल छन् । ती मध्ये तीन वटा चिनी कारखानाले मात्र गत बर्ष उखु क्रसिङ्ग गरेको थियो ।
सुनवल चिनी कारखाना, इन्दिरा सुगर मिल र बागमति खाडसरी मिलले गत बर्ष उखुको क्रसिङ्ग गरेको थियो भने मोहिनी सुगर मिलले एक बर्ष उत्पादन गरेपनि गत बर्ष भने उत्पादन गरेको थिएन ।
हरेक बर्ष उखुको मूल्य निर्धारण हुन ढिलो हुने गरेका कारण किसानहरुको उखु खेतीप्रति आकर्षण घटिरहेको छ । जसले गर्दा बर्षेनी उखु खेती हुने क्षेत्रफल र उखु उत्पादन समेत घट्दै गएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal