रामकुमार श्रेष्ठ
नवलपुर, १९ पुस ।मध्यविन्दु नगरपालिका १० अरुणखोलामा अवैध रुपमा ढुंगा गिटी बालुवा निकासीमा प्रयोग हुंदै गरेको अवस्थामा मध्यविन्दु नगरपालिकाले ३ वटा जेसिबी, ८ वटा टिप्पर र एउटा टकलाई नियन्त्रणमा लिएको छ ।
सरकारले ठेक्का लगाउन ढिलाई गरेका खोला तथा नदीहरुमा नदीजन्य वस्तुको अवैध निकासी भएपछि मध्यविन्दु नगरपालिकाका कार्यकारी अधिकृत शिवराज सेढाई आफै केही सशस्त्र प्रहरीलाई साथमा लिएर खोलामा अनुमगनमा निस्किएका थिए ।
उनले मध्यविन्दु नगरपालिकाको अरुणखोला पुल देखि केही उत्तर तर्फ अवैध रुपमा गिटीबालुवा निकासी गरिरहेको अवस्थामा ति टिप्पर र जेसिभीलाई नियन्त्रणमा लिएको जनाएका छन् ।
मध्यविन्दु नगरपालिकाले नियन्त्रणमा लिएको जेसिभी, टिप्पर र टकलाई अरुणखोला प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ ।
नियन्त्रणमा लिएकामध्ये दुई वटा जेसिबी खोला नजिकै रहेको अरुणखोला बालुवा प्रशोधन केन्द्रको रहेको कार्यकारी अधिकृत सेढाईले बताए । बालुवा प्रशोधन केन्द्र भनेर सञ्चालन गर्ने अनि जेसिभी लगाएर खोलाबाट गिटी झिक्ने गरेको पाइएकोले त्यसलाई पनि नियन्त्रणमा लिएको उनले बताए ।
नगरपालिकाले ना ७ ख ७४०७, ना ७ ख ४८५६, ना ७ ख ३२०८, ना ७ ख ५००५, ना ७ ख ३६८१, ना ७ ख ४४६८, र ना ७ ख ७५१९ नम्बरको टिप्पर, लु १ ख ६८५३ नम्बरको टक र ३ वटा जेभिी नियन्त्रणमा लिएको हो ।

Post a Comment