टीका सापकोटा
लैङ्गिक समानता भन्नाले महिला र पुरुषबीच आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक विकासमा समान सहभागिता र अधिकार भन्ने बुझिन्छ । लैङ्गिक समानता भन्नु नै महिला पुरुष बीचको अथवा नारी पुरुषको प्राकृतिक भिन्नताभित्रै उनीहरुले गरेको समान भुमिकालाई समान सम्मान दिनु पनि हो । प्राकृतिक भिन्नता परिवर्तन नभए पनि सामाजिक विभेद वा भिन्नता भने समय सापेक्ष परिवर्तन गर्न सकिन्छ । महिला र पुरुष यो समाज र राष्ट्रको साझेदार सदस्य हुन् ।
यो यर्थाथ दुबैले मनन गर्न आवश्यक छ । पितृसत्तात्मक संस्कार र संस्कृति भएको हाम्रो समाजमा लैङ्गिक समानताको नारा शताव्दीऔंदेखि लगाउंदै आए पनि व्यवहारिक रुपमा परिवर्तनको महसुस गर्न पाइएको छैन् । गाउँमा मात्र होइन केन्द्रमा पनि समान अवसर र अधिकारबाट महिलाहरु बञ्चित भएकै छन् ।
हाम्रो वैदिक परम्परालाई नियाल्दा कुनै किसिमको सामाजिक तथा लैङ्गिक विभेद नपाइएता पनि कुनै कालखण्डमा पुराणहरुको गलत व्याख्या भएकै कारण नारी शिक्षा, अर्थ र शक्तिमा कमजोर बनाउदै लगियो। जस्का कारण नारीले राज्यका हरेक तह र तप्कामा नेतृृत्व लिन सकेनन् । सदियौ देखिका हाम्रा गलत संस्कार, सस्कृति र व्याख्यालाई सच्याउंदै नारी पुरुषलाई एक रथका दुई पाङग्रा मानि दुबैलाई समान रुपले हेर्न आबश्यक छ। मानिस एक चेतनशील बुद्धिमान तथा सिर्जनशील प्राणी हो । तर पनि नारी माथि भएका बिभिन्न दुब्र्यहार सम्झदा मान्छे पशु भन्दा पनि गए गुज्रेको जस्तै लाग्छ । नारी आमा हो , सृष्टिूकर्ता हो , धैर्यकी प्रतिमुर्ति हो । नारीको त्याग र धैर्यलाई कमजोरी ठानेर अत्याचार गर्नु मुर्खता शिवाय केही होइन् । सृष्टिकर्ता नारी त्यति कमजोर छैन् जति पुरुषवादी समाजले सोचेको हुन्छ । एउटा पुरुषलाई पुरुष बनाउन महिलाले भोगेको कष्ट पुरुषले कल्पना गर्न सक्दैन र त नारीलाई कमजोर मान्छ । के पुरुष बिना नारी र नारी विना पुरुषको जीवनको अस्तित्व छ त? जुन पुरुषले त्यही नारीबाट जीवन पाएको छ उसैलाई दोस्रो दर्जाको ठान्न कस्ले अधिकार दियो? समाजमा पुरुष हुनको लागि नारीकै रगत पसिना चाहिन्छ। तर पनि किन नारीहरुलाई आफ्नो पैतलाको धुलो सम्झिन्छ । नारी सहनशील उर्जावान शक्ति हो तर बिस्फोट नहुनुको अर्थ नारी कमजोर छ भन्ने कदापी होइन । भनिन्छ यदि नारीले शंक्का त्यागेमा नारी स्वयम् शिव हो। नारी सिङ्ंगो शक्ति हो। नारीले चाहेको खण्डमा पुरुषवादी शासनको विध्वम्स गर्न सक्छे । नारी कोमल छे भनेर उस्का अधिकारमा हात हाल्ने पुरुषवादी चिन्तनलाई चिर्न नसक्ने महिलावादीसंग जुध्ने शक्ति सञ्चय गरेको यो मौन अवधी हो । कसैलाई लाग्न सक्छ नारीको कमजोरी रुनु होे । पुरुषकै निम्ति जीवन आहुति गर्नु र माया गर्नु हो तर यो त नारी हुनुको उद्धारता हो । पुरुषकै भरमा परेर जीवन गुजारा गर्ने बिचरा नारी जस्ले भन्छ त्यही पुरुष नारीको साहारा विना पानी पनि पिउन सक्दैन। कल्पना गरौ त श्रीमान श्रीमती संगै जागिरे छ भने घरमा गएर सबै काम महिलाले नै गर्न पर्छ । श्रीमान थकाई लाग्यो भनेर आराम गर्छन त्यसो भए महिलालाई थकाई नै लाग्दैन त? परुषले आफ्ू नारीको आश्रय परेको जीवनभर थाहा पाउदैन घमण्ड गरेर सकिन्छ। तर उस्कै कारण बाचेको हु भन्ने चाल पाउदैन।
समाजको नियम परिवर्तन गर्न छ भने आफै परिवर्तन हुन पर्दछ । नारी पनि हरेक क्षेत्रमा पुरुष सरह काम गर्न सक्षम छे । आफूसंग भएको शक्ति र सामथ्र्यलाई व्यवहारमा ल्याउन सक्नुपर्छ। त्यो खुवी नारी भित्र छ । पुरुषको पाखुरो बलियो बनाउने नारीको शक्तिको प्रयोग नगर्दा मात्र हो । नारीहरु घरको साघुरो पर्खाल भित्र कैद भएर हेपिए भन्ने र अधिकार पाईन भन्ने कुरा हामी नारीको कमजोरी हो ।अधिकार र आरक्षण कोटाले हामी नारी झन बिचराको पात्रमात्र हुन्छौ । के हामीमा पुरुष झै प्रतिस्पर्धा गरेर अधि आउन सक्दैनौ र? बस हामीले हामीलाई खुम्च्याएर सिमित पार्नु हुदैन् । हाँस्न बोल्न सिमित घेरामा पारिनु लैङ्गिक असमानता होईन ?
सानो सानो कुराको हामी माथि बार लगाएको छ । हास्यो भने पनि हाम्रो चरित्रको मूल्याकन हुन्छ । नहासे पनि हामीभित्रको नारीको बारेमा अनेक अड्कलबाजी गरिन्छ । कोही साथी भयो भने वा चिया पसलमा कसैसंग हांँस्यो भने हामी नारी हुनुकै कलङ्क मानिन्छ के हामी हाँस्दा बोल्दा पनि लैङ्गिक विभेदकाृ शिकार भएका होइनौ ? के पुरुष जस्तै हास्न र रमाउने अधिकार नारीलाई छैन? कपडा गहना लगाएर महिलालाई उस्को गुलाम बनाउन खा््ज्नु मुर्खता पनि हो । नारीलाई पाइजु र सिक्रीले बाधेर श्रृङगारको महङगो बुट्टाले छोपेर उस्का नैसर्गिक अधिकारमा प्रश्न उठाउने अधिकार कस्ले दिएको छ । महिलाको मुद्दा सम्बोधन गर्ने बाहानामा हजारौ लाखौ पैसाको खेती गरेको छन् । के साच्चि त्यसो भए महिला सन्तान उत्पादन गर्ने मेसिन हो ? कहिले काहि महिलाको ठाउँमा बसेर पारिवारिक झमेलाको र पारिवारिक सदभावलाई अपनाएर हेर बल्ल कति गाह्रो छ महिला हुनु । समाजका हरेक रितिरिवाज पुजा पाठ देखि लिएर राजनैतिक सहभागितामा महिलाहरु जहिले पहिलो स्थानमा किन छैन। एकाध ठूला पोष्टमा पुगेका छन् महिलाहरु तर उनीहरु उही पुरुषवादी चिन्तन र उनीहरुकै अनुसार चलेका छन् । त्यो त मात्र बत्तिमुनिको अध्यारो हो ।
शक्तिको र शासनको मालिक पुरुष भए पछि महिला त्यहा पुगेको भन्ने अर्थ नै रहदैन । मात्र पुरुषवादी चिन्तनकै एक मोहोरा बनेका हुन्छन् । त्यो नारी अस्तित्वको उपहास मात्र हो । हामी नारीहरु कसैको गहनामा र कसैको चाहनामा चल्ने मेसिन होइन। हामीमा नारी हुनुको स्वाभिमान हुनपर्दछ। आफैमा हामी पूर्ण मानिस हौ । हामी पनि हरेक क्षेत्रमा समान अधिकारको लागि तयार छौ त्यो हाम्रो जन्मसिद्ध अधिकार हो । पितृसत्ताको शासनले नारी जातिको उत्थान गर्न सक्दैन् । त्यसो भए हामीले हरेक क्षेत्रका पहुचको र सहभागिताको लडाइमा जानुपदैन ?
दाउन्ने साप्ताहिकमा प्रकाशित

Post a Comment