नवलपुर । नवलपरासीको कावासोतीमा प्रदेश ४ को नामाकरण र प्रदेशको स्थायी राजधानी कहां राख्ने भन्ने विषयमा सरोकार वालासंग छलफल भएको छ ।
भगवतप्रसाद मल्लको अध्यक्षतामा भएको सुझाव संकलन कार्यक्रममा प्रदेश ४ को राजधानी पोखरा राख्नेमा अधिकांश सहमत देखिएका थिए । प्रदेशको नामाकारणमा भने विभिन्न नामहरु प्रस्ताव गरिएको छ ।
कार्यक्रममा प्रदेश ४ का प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नवलपुर जिल्लाका प्रदेश सांसद ओमकला गौतम, जिल्ला सम्नवय समिति नवलपुरका संयोजक चेसराम आले, नवलपुरका ४ नगरपालिका र ४ गाउंपालिकाका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुखहरु, नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, प्रहरी उपरीक्षक दिपेन्द्र जिसी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी, नयां शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम, जनमुक्ति पार्टी लगायतका राजनीतिक दलका प्रतिनिधिहरु, आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सांसद रोशनबहादुर गाहाले कार्यक्रमको बारेमा जानकारी गराउनुभएपछि कार्यक्रममा सहभागीहरुलाई आआफ्नो धारणा राख्न खुल्ला गरिएको थियो ।
स्थानीय विकास अधिकारी विजयराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरुले प्रदेश ४ को नामाकरण गण्डकी, गण्डक, तमुवान–मगरांत, गण्डकी–तमुवान, गण्डकी धौलागिरी, त्रिवेणी–मुक्तिनाथ लगायतका नामहरु राख्न माग गरेका थिए ।
कार्यक्रममा सहभागी प्रत्येकलाई ३÷३ वटा विकल्प सहितको प्रस्ताव भर्न फारम समेत प्रदान गरिएको थियो ।
कार्यक्रम प्रदेश सभा नं.४ प्रदेश राजधानी तथा मूल्यांकन समितिको आयोजनामा भएको थियो ।
यसैबीच सुझाव संकलन कार्यक्रममा सुझाव राख्ने क्रममा थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतोलाई अपमान गर्ने ढंगले कार्यक्रममा बोल्दा बोल्दै सञ्चालक विजय राज पौडेलले माइक खोसेको भन्दै आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न संघ संगठनहरुले विरोध गरेको छ ।
आज उनीहरुले विज्ञप्ति जारी गरी उक्त घटनाको निन्दा गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङ, उपाध्यक्ष ललित गुरुङ, सचिव इन्द्र फाल मगर, रिमबहादुर दरै, गुरुङ राष्ट्रिय परिषद नवलपुरका उपाध्यक्ष, जगतकाजी गुरुङ, कोषाध्यक्ष तौवबहादुर गुरुङ, थारु कल्याणकारिण सभा नवलपरासीका सभापति गणेशमान महतो, पार्वती तिवारी, चन्द्रकुमारी तमुस्यो, देवीसरा पुलामी मगर, रमिला भुजेल, कृष्णबहादुर गुरुङ, जसमति थापा मगर लगायतले संयुक्त रुपमा विज्ञप्ति जारी गर्नुभएको छ ।
विज्ञप्तिमा थाकस सभापति गणेशमान महतोले आफ्नो धारणा राख्ने क्रममा बोल्दा बोल्दै स्थानीय विकास अधिकारी पौडेलले माइक खोसेर अभद्र व्यवहार गरेको भन्दै उक्त घटनाको निन्दा गरिएको उल्लेख गरिएको छ ।
त्यस्तै पौडेलले उक्त घटना प्रति सार्वजनिक रुपमा माफी माग्नु पर्नेमा जोड दिएको छ ।

Post a Comment