Thursday, April 5, 2018

च्याउ खेतीबाट मनग्य आम्दानी

शोभा जि.सी. 

कावासोती। नवलपरासी कृषिका लागि उर्वर भूमि हो । नवलपरासीमा अन्य खेती जस्तै व्यवसायिक च्याउ खेतीको प्रशस्त सम्भावना छ तर व्यवसायिक रुपमा च्याउ खेती जुनढंगले हुनु पर्ने हो त्यो भने हुन सकेको छैन ।
झण्डै १० बर्ष अघिबाट नवलपरासीमा व्यवसायिक च्याउखेती शुरु भएको हो तर अहिलेसम्म नवलपरासी च्याउ खेतीमा आत्मनिर्भर भने हुन सकेको छैन ।
च्याउ खेती गर्दै आएका किसानहरुका अनुसार आधुनिक र वैज्ञानिक तरिकाले खेती गर्न किसानहरुलाई प्रोत्साहन गर्न नसक्दा यहां जति च्याउ खेती गर्न सकिने हो त्यति हुन नसकेको हो ।
थोरै जग्गामा पनि कम लगानी गरेर मनग्य आम्दानी गर्न सकिने खेतीमध्येको एक खेती हो च्याउ खेती। च्याउ खेती गर्दै आएका किसानहरुका अनुसार कृषकहरुले उत्पादन गरेको उपजले सजिलै बजार पाउने र त्यसको बजार भाउ स्थिर हुन सके च्याउखेतीबाट अझैप्रशस्त आम्दानी गर्न सक्दछन् ।
नवलपरासीको देवचुली नगरपालिका २ निवासी युवा किसान तेजबहादुर पुन मगरले अहिले व्यवसायिक च्याउ खेती गरेका छन् । उनले व्यवसायिक रुपमा च्याउ खेती थालेको जम्मा ३ महिना भएको छ तथापि उनले च्याउ खेतीबाट मनग्य आम्दानी गरेका छन् ।

सानैदेखि कहिले के कहिले के व्यवसायमा लाग्दै आएका नवलपरासीको देवचुली नगरपालिका २ निवासी ४० बर्षीय तेजबहादर पुन मगर पछिल्लो ३ महिनादेखि व्यवसायिक च्याउ खेतीमा लागेका छन् । 

उनले २०७२ सालदेखि आफ्नै घरमा सानो ठाउंमा च्याउ खेती र च्याउको विउ उत्पादन गर्ने काम गर्दै आएको भएपनि अहिले भने १० कठ्ठा जग्गा भाडामा लिएर खेती गर्न थालेका हुन् ।
उनले च्याउ खेती गर्दा १३ लाखको हाराहारीमा लगानी गरेको भएपनि उनले पछिल्लो ३ महिनाको अवधिमा साढे ८ लाख बराबरको च्याउ विक्री गरिसकेका छन् ।
उनले किसानले उत्पादन गरेको मूल्य किसानआफैले तोक्न पाउनु पर्नेमा पनि जोड दिए । उनले उत्पादन गरेको च्याउ नवलपरासीको कावासोती, बर्दघाट, दलदले, गैडाकोटदेखि नारायणगढसम्म पुर्याउने गर्दछन् ।
उनले अहिले बार्षिक ३० हजारमा १० कठ्ठा खेत भाडामा लिएर च्याउ खेती गरेका छन् । उनले एक जना कर्मचारी राखेका छन् भने श्रीमान र श्रीमती भएर बजारदेखि च्याउबारीसम्म पालैपालो काम गर्ने गर्दछन् ।
टुरिष्ट गाइण्डदेखि जग्गा किनबेचसम्मको काम गर्ने उनी कृषिबाटै बढी आम्दानी हुने देखेर यसमा लागेका हुन् ।
नवलपरासीमा सबैभन्दा पहिला मध्यविन्दु नगरपालिकाको टिकुलीटारमा व्यवसायिक च्याउ खेती गरिएको हो । यहांका अधिकांशले धेरै थोरै व्यवसायिक रुपमा च्याउ खेती गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय नवलपरासीका योजना अधिकृत श्रीकान्त घिमिरेका अनुसार अहिले नवलपरासीको रामग्राम, सुनवल, बर्दघाट, सरावल, पाल्हीनन्दन, दुम्किबास, वेनिमणिपुर, कावासोती, देवचुली लगायतको क्षेत्रमा व्यवसायिक च्याउ खेती गर्ने गरिएको छ ।
नवलपरासीमा बेसी मात्रामा कन्य जातको च्याउ खेती गरिन्छ भने गोभ्रे जातको च्याउ खेती पनि नवलपरासीमा गर्ने गरिनछ ।
देवचुलीको तेजबहादुर पुन मगरले जस्तै सुस्ता १ चिगाहाका सुरज पाण्डेले पनि व्यवसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् । 
उनले ५ बर्षदेखि च्याउ खेती गर्न थालेका हुन् भने पछिल्लो ३ बर्षदेखि ठूलो मात्रामा च्याउ खेती गरेका छन् । 
उनले अहिले ५ वटा टहरामा च्याउ खेती गरेका छन् ।
बर्षमा ४ सिजनसम्म उत्पादन गर्न सकिने च्याउमा उनले एउटै टहराबाट एक सिजनमा खर्च कटाएर डेढ लाखसम्म आम्दानी हुने गरेको सुनाए। कृषि विकास कार्यालय र सरकारले च्याउ खेती गर्ने किसानहरुलाई विउमा ५० प्रतिशतमात्र अनुदान दिएको छ भने त्यसका अलवा खासै सहयोग हुन नसकेको कृषि कार्यालयकै कर्मचारीहरुले बताएका छन् ।
नवलपरासीमा गत आर्थिक बर्षमा १ सय ३० मेट्रिन टन च्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका योजना अधिकृत श्रीकान्त घिमिरेले बताए ।
उनका अनुसार च्याउ खेती गरेका किसानहरुले च्याउ खेतीबाट राम्रो आम्दानी गरेका छन् ।
समस्याः  
स्थिर बजार भाउ नहुंदा कहिले कांही च्याउ खेती गर्ने किसानहरु समस्यामा पर्ने गरेका छन् । 
बजारमा कन्य जातको च्याउ खुद्रा प्रतिकिलो २ सय २० रुपैयांदेखि २ सय ५० रुपैयां रहे पनि खेती गर्ने किसानले भने प्रति किलोग्राम १ सय २० देखि बढीमा एक सय ४० रुपैयां पाउने गरेका छन् । नवलपरासीमा उत्पादित च्याउ नलपरासीको कावासोती, रुपन्देहीको बुटवल र केही मात्रामा चितवनको नारायणगढ पनि खपत हुने गरेको छ । हावा, पानी र घांमको तापक्रम मिलाउनु पर्ने च्याउ खेतीमा यि तीन चिजको तापक्रम मिलाउन नसक्दा कहिलेकांही हावाले हान्दा सुक्ने (ह्वाइट स्लाइट) रोग लाग्ने गरेको घिमिरेले बताए । 
घिमिरेका अनुसार च्याउमा कहिले कांही हरियो ढुसी र कालो ढुसी नामक रोग पनि लाग्ने गर्दछ भने कहिले कांही सानो जुका पनि च्याउमा देखिने गर्दछ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal