पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेकै दिन पोखरामा प्रदेश ४ को सुरक्षा गोष्ठी चल्दै थियो । गृहमन्त्री रामबहादुर थापा कार्यक्रममा सहभागी हुन पोखरामै थिए ।थापा कार्यक्रमस्थलतिर लागेको केही बेरमै पोखरा विमानस्थलको गेटमै शंकास्पद वस्तु भेटियो । त्यसबारे समयमै जानकारी पाउँदा नेपाली सेनाको टोलीले शंस्कास्पद वस्तुलाई डिस्पोज ग¥यो ।
लगत्तै सुरु भएको प्रदेश ४ का सबै सुरक्षा अंगका प्रमुख सहभागी बैठकमा यो विषयले स्थान पायो । आइतबार पोखरासँगै प्रदेश ४ का तनहुँ, नवलपुर लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट तथा फेला परेका खबर आए ।
सुरक्षा बैठकमा गृहमन्त्री रामबहादुरले राजनीतिक आवरणमा यस्ता गतिविधि गर्ने कुनै पनि समूहलाई नछोड्न निर्देशन दिए ।‘विप्लव होस् या अरु कुनै पनि समूह कसैलाई नछोड्नु निगरानी गर्नु, समाउनू,’ थापाले भने, ‘देशमा अब स्थायी सरकार आएको छ । यस्ता गतिविधिले अब विकास रोकिनु हुँदैन ।’
सुरक्षा र विकासलाई सँगसँगै लैजानै पर्ने भएकाले बीचमा आउने कुनै पनि तत्वलाई कुनै पनि बहानामा नछोड्न गृहमन्त्रीको निर्देशन दिए ।
‘यस्ता उच्छृंखल जत्था, तस्करी, भ्रष्ट र गुन्डागर्दी अब अन्त्य हुनुपर्छ,’ गृहमन्त्री थापाले भने, ‘सुरक्षाकै कारण कुनै पनि विकास निर्माण रोकिन नदिनुस् । कसैले गुन्डागर्दी र दलको आड लिएर रोक्न खोज्ने यो, ऊ नभनि तह लगानुस् ।’
सुरक्षा बैठकमा प्रदेश ४ का ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
संघीयतासँगै तिनै तहको सरकार सञ्चालन भइसकेको अवस्था कसरी सबै ठाउँमा सुरक्षाको प्रत्याभूति दिलाउने र अवैध गतिविधिलाई कसरी रोक्ने भन्ने विषयमा गोष्ठीमा छलफल भएको गृह मन्त्रालयका उपसचिव तथा सह–प्रवक्ता एकदेव अधिकारीले जानकारी दिए ।
‘तिनै तहको सरकारले काम थालिसकेको अवस्थामा प्रदेश ४ को सुरक्षा अवस्था के हो त रु यहाँका चुनौतिहरु केके हुन् रु भन्ने विषयमा जिल्लागत स्थितिबारे ब्रिफिङ भयो,’ सहप्रवक्ता अधिकारीले भने, ‘अवैध गतिविधि प्रमुख सुरक्षा चुनौतिको रुपमा देखिएको छ ।’
जिल्लागत अवस्था बुझिसकेपछि गृहमन्त्री थापाले गृह मन्त्रालयले व्यवस्था गर्नुपर्ने कुरा व्यवस्था गर्दै जाने र अहिले भइरहेको स्रोत र साधनको प्रयोग गरी पूर्ण सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएका थिए ।
सुरक्षाकै कारण विकास पछाडि पर्ने अवस्था आउन नदिन सुक्ष्म अध्ययन र सुरक्षा समूहको सघन परिचलन गर्न उनले आग्रह गरे ।
राजनीतिक, धार्मिक वा कुनै पनि साम्प्रदायिक उछृङ्खल गतिविधि हुन नदिन हदैसम्मको सजकता अपनाउन गृहमन्त्रीले निर्देशन दिए ।
‘संस्थागत, समूहगत वा व्यक्तिगत कुनै पनि अवैधधन्दा चल्न नपाऊन्, गुन्डागर्दी र भ्रष्टाचार अन्त्य गर्न सुरक्षा क्षेत्र प्रमुख हो,’ गृहमन्त्री थापाले भने, ‘यातायात क्षेत्रको सिन्डिकेट हट्यो तर यस्ता प्रवृति हटेको छैन ।’
गृह मन्त्रालयको निर्देशन र सुधार योजनाका विषयमा पनि गोष्ठीमा छलफल भएको छ । गोष्ठीमा सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिन स्रोत र साधनको अभाव भएको बैठकमा सहभागीले बताएका थिए ।
कतिपय स्थानीय तहमा बाटोकै समस्या, कतिपय ठाउँमा पुग्न सुरक्षाकर्मीकै अभाव र दरबन्दी पनि कम भएको जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका थिए ।
Post a Comment