Tuesday, May 22, 2018

भारतको केरलामा फैलिरहेको निपा भाइरस के हो?

(बिबिसीबाट)
भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ।
उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ।

अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्।
केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका अनुसार निपा भाइरसबाट संक्रमितहरूको उपचारमा संलग्न एकजना नर्सको पनि मृत्यु भएको छ।

के हो यो रोग?
एनआईभी भनिने निपा भाइरसको संक्रमणले नयाँ किसिमको रोग हो। यो अरू पशुबाट मानिसमा सर्न सक्छ।
यो भाइरस खासगरी 'फ्रूट ब्याट' भनिने एक प्रकारको चमेरोमा पाइन्छ।
यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।
केरलामा यो रोगबाट पीडित भएका व्यक्तिले प्रयोग गर्ने गरेको इनारमा मरेका चमेराहरू भेटिएको स्वास्थ्य कार्यकर्ताहरूले बताएका छन्।
त्यतिखेर फैलिएको इन्सेफलाइटिस तथा श्वासप्रश्वाससम्बन्धी प्रकोपका बेला बङ्गुरपालक किसानहरूमा यो रोग भेटिएको थियो।
सो प्रकोपमा झन्डै तीन सय जनाले ज्यान गुमाएका थिए। प्रकोप रोक्न दश लाखभन्दा धेरै बङ्गुर मारिएका थिए।

कसरी बच्ने?
रोग पाइने स्थानमा भएका बिरामी बङ्गुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने बताइन्छ।

यसका लक्षणमा ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन्।

लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा मा जान सक्छ।

खोप छैन
सत्तरी प्रतिशतसम्म मृत्यु दर भएको उक्त भाइरस संक्रमणका विरुद्ध कुनै खोप उपलब्ध छैन।

विश्व स्वास्थ्य संगठनले हुनसक्ने ठूलो महामारीको सम्भावित कारकका रूपमा सूचीकृत गरेका दश घातक रोगमा निपा भाइरस संक्रमण पनि पर्दछ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal