Wednesday, May 16, 2018

आजदेखि मलमास सुरु, के गर्न हुन्छ ? के हुँदैन ?

काठमाडौं,जेठ २-
मलमास सुरु भएको छ। बिहीबार सुरु भई जेठको ३० गतेसम्म रहनेछ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पुराणवाचक पं. बालमुकुन्द देवकोटा बताउँछन्। ‘एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो’, भन्छन्, चन्द्रमाको घडी पला हुँदै जम्मा हुने महिना नै अधिकमास हुन्छ।’ यसबेला नारायणको आराधना गरिने भएकाले पुरुषोत्तममास पनि भनिन्छ।
१२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपति हुन सूर्यले स्वीकार नगरेका र भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना भनिएको प्रसंग पुराणमा आउँछ। मलमासको समयमा मांगलिक शुभ कार्यहरू गर्न नहुने बताइन्छ। विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन। गर्भाधान, व्रतबन्ध, विवाहजस्ता संस्कारहरू गर्नु हुँदैन। त्यस्तै शिलान्यास, नवगृहप्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला गरिँदैनन्। तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा आदिका साथै नामकरण, अन्नप्राशन र अन्त्येष्टिजस्ता संस्कार नरोकिने प‌ं। देककोटा बताउँछन्। यो समयमा भगवान् पुरुषोत्तम (नारायण) को आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ।
यो महिनाभरि पुरुषोत्तम माहात्म्य पाठ गर्ने परम्परा छ। मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम माहत्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ पुरुषोत्तम महिनामा गरेको पूजा अरु महिनाको भन्दा अधिक फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। पुरुषोत्तम भगवानको ३३ नामले पूजा–अर्चना गर्ने, नारायणको मन्दिरमा दर्शन गर्ने र महिनाको अन्त्यमा काँसको थालमा मालपुवा दान गर्ने परम्परा छ। काठमाडौंको मच्छेगाउँस्थित मत्स्यनारायणको मन्दिरमा महिनाभर मेला लाग्छ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal