Saturday, April 30, 2016

पानी नपरेपछि पानी माग्दै माइपूजा

नवलपरासी, १८ बैशाख । लामो समयदेखि पानी नपरेपछि पानी माग्दै नवलपरासीको कावासोतीमा माइपूजा गरिएको छ ।
कावासोती नगरपालिका ३ पुरानो कावासोतीका बासिन्दाहरुले मिलेर गाउंको शिरानमा माइपूजा गरेका हुन् ।
लामो समयदेखि पानी पर्न नसकेपछि नवलपरासीमा किसानहरुले मकै छर्न पाएका छैनन् भने कतै कतै मोटर लगाएर चलाएको पानीमा छरेको मकै पनि सुक्न थालेको छ ।
नेपाली समाजमा धार्मिक संस्कार अनुसार पानी नपरे माई पूजा गर्ने, इन्द्रको पूजा गर्ने, भ्यागुताको विवाह गरिदिने प्रचलन रहेको छ । सोही अनुसार स्थानीयले पानी माग्दै माइपूजा गरेका हुन् ।
चैत्रको अन्तिम सातादेखि बैशाखको पहिलोसातासम्म भित्र मकै छरिसक्नु पर्नेमा पानी नपरेको कारण नवलपरासीमा किसानहरुले मकै छर्न पाएका छैनन् ।
जिल्ला कृषि विकास कार्यालय नवलपरासीले पनि यो खडेरीमा मोटर लगाएर मकै छरे पनि मकै खेती नहुने जनाएको छ । मकै खेती पूर्णतया आकाशे पानीको भरमा गरिने खेती हो ।
त्यसैगरी पानी नपरेसंगै धान खेतीका लागि किसानहरु विउ समेत छर्न पाएका छैनन् । बांझो खेत अर्थात मकै नझर्ने खेतमा धान खेती गर्नका लागि बैशाखको दोस्रो साताबाट किसानहरु धानको विउ छर्न थाल्दछन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal