Friday, April 29, 2016

छोराको सर्टिफिकेट झिक्न माछा मार्दै माझी

रामकुमार श्रेष्ठ
नवलपरासी, १७ बैशाख । कावासोती नगरपालिका शेरगञ्जका रामबहादुर माझी आजभोलि विहान उठेदेखि सांझसम्म माछा मार्न कस्सिएका छन्। उनलाई हिजो अस्तीका दिनमा भन्दा आजभोलि धेरै माछा मार्नु छ। किन कि उसले त्यही माछाबाट बेचेको पैसाले घरको सांझ विहानको छाक पनि टार्न छ अनि छोराको कक्षा ५ पास भएको सर्टिफिकेट पनि निकाल्न छ।
स्थानीय गाउंको विद्यालय दुर्गा भवानी प्राविबाट कक्षा ५ पास गरेका दिपेश माझीले कक्षा ५ पासको सर्टिफिकेट निकाल्न नसकेकै कारण अर्को विद्यालयको कक्षा ६ मा भर्ना हुन पाएका छैनन् । विद्यालय खुलेको दुई साता वित्न लागिसक्यो तर उनी विद्यालय जान पाएका छैनन् ।
त्यसैले दीपेशका बुवा रामबहादुरलाई माछा सक्दो धेरै मार्नु पर्ने बाध्यता छ जसलाई उनले बजारमा लगेर बेचेर सांझ विहानको छाक टार्नु छ अनि छोराको सर्टिफिकेट निकाल्नु छ। कक्षा ६ मा भर्ना गराउनु छ अनि कितावकापी, कलम, विद्यालय पोशाक पनि किन्नु छ।
दिपेश माझीका बुवा रामबहादुर माझीले आफूले पैसा नभएकै कारण छोराको सर्टिफिकेट निकाल्न नपाएको बताए। उनले त्यसका लागि माछा मारिरहेको र बेचेर सर्टिफिकेट निकाल्ने खर्च जोहो गर्न पनि धौधौ परेको बताए। तथापि उनले आफ्नो छोराको पढ्ने चाहानालाई मार्न नदिन मेहेनत गरिरहेका छन्।
उनी मात्र होइन, यहांका ४, ५ जना बालबालिकाको अवस्था यस्तै छ अहिले कक्षा ५ पास भएर कक्षा ६ मा भर्ना हुने बेलामा उनीहरुसंग अर्को विद्यालय चण्डेश्वरी माविमा भर्ना हुन जानका लागि चाहिने सर्टिर्फिकेट निकाल्ने पैसा छैन भने अर्कोतर्फ सर्टिफिकेट निकालिसके पछि विद्यालयले लिने भर्ना शुल्क तिर्ने पनि पैसा छैन। त्यति मात्र होइन पुस्तक, कापी, कलम र विद्यालय पोशाकको पनि जोहो गर्नु छ।
शेरगञ्जको स्थानीय सन्तबहादुर माझीका अनुसार यहां मात्र गतबर्ष कोही विद्यालय भर्ना भएर आर्थिक अभावकै कारण विद्यालय छाडेका त कोही विद्यालय भर्ना नभएका गरी १५ जना बालबालिका विद्यालयको पहुँच बाहिर थिए।
उनीहरुलाई अहिले भर्ना गराएपनि विद्यालय पोशाक, कापी, किताब, कलम लगायतका शैक्षिक सामग्रीको समस्या रहेको छ।
त्यस्तै रहजर पुनबार्स बोटे टोलका बालबालिका पनि गत बर्ष करिब १६ जना बालबालिका विद्यालय भर्ना भएर पनि विद्यालय गएनन। अहिले ती बालबालिकालाई पुनः विद्यालयमा भर्ना त गरिएको छ तर विद्यालय नियमित होलान भन्नेमा ढुक्क हुने देखिदैन। बोटे टोलका स्थानीय बासिन्दा एवम् नवजागरण प्राविका विद्यालय व्यवस्थापन समितिका सदस्य टेकबहादुर माझीले कतिपय आर्थिक अभावका कारण त कति पढेर के हुन्छ र भन्ने भावना अझ पनि रहेकोले यस्तो भएको बताए।
उनले आफूहरुले भर्ना शुल्क निशुल्क रहेपनि सबै बालबालिका नियमित नहुने गरेको बताए।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal