नवलपरासी, १८ जेठ ।
फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको उनको प्रेमीले हत्या गरेको हो कि होइन भन्ने अनुसन्धान गर्न मंगलबार पोलीग्राफ भएकोछ ।
मंगलबार विहान ८ बजेदेखि दिउंसो १ बजेसम्म गरेर पांच घण्टा लगाएर पोली ग्राफ गरिएको हो । मनिषका प्रेमी आशिष भन्ने रुद्र नारायण चौधरीले पोलीग्राफको क्रममा पनि आफूले हत्या नगरेको दोहोर्याएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले पांच घण्टा लगाएर पोलीग्राफ गरेको बताए ।
पोलीग्राफ टोली सोमबार नै परासी आइपुगेका थिए । चौधरीले सोमबार टाउको दुखेको भन्दै पोलीग्राफ गर्न नमानेपछि मंगलबार पोलीग्राफ गरिएको हो । क्षेत्रीय प्रहरी कार्यालय पोखराका पोली ग्राफ शाखाका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे पोली ग्राफका परासी आइपुगेका हुन् ।
पोलीग्राफ माथि विस्तृत अध्ययन गर्न थालिएको छ । रिपोर्ट आउन चार÷पाँच दिन लाग्ने बताइएको छ । पोलीग्राफ माथि अहिले नवलपरासीमै विस्तृत अध्ययन गरिने र थप पोलीग्राफ गर्न परे फेरि गरिने छ ।
त्यसपछि पोखरामा लगेर त्यसलाई थप अध्ययन गर्ने र पोखराबाट पनि पुरा अध्ययन हुन नसके काठमाडौं लगिने सापकोटाले बताए ।
त्यामा संलग्न रहेको आशंकामा पक्राउ परेको उनका प्रेमी आशिष भन्ने रुद्र नारायण चौधरीले आफूले हत्या नगरेको भन्दै पटक पटक दावी गर्दै आएका छन् ।
उनले मनिषा घर एक्लै रहेको थाहा पाएपछि गएकोर झगडा हुंदा दुई झापड हानेर घर बाहिर बरन्डामा आएर सुतेको र पछि फर्केर हेर्न जांदा झुण्डिएको अवस्थामा भेटेर झिक्दा मृत्यु भईसकेको दावी गर्दै आएका छन् ।
आशिष अझै जिल्ला प्रहरी कार्यालयमा प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै पोष्टमार्टम रिपोर्ट पनि मंगलबार आएको छ । पोष्टमार्टम रिपोर्टमा हत्या वा आत्महत्या स्पष्ट नभएको तर घांटीमा दबाबका कारण मनिषा घर्ती मगरको मृत्यु भएको रिपोर्ट आएको हो ।
१७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनी घरमा एक्लै थिइन् ।
प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने बताएको थियो ।
उनको शव शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको थियो । शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार पोस्टमार्टम रिपोर्ट मंगलबार विहान प्रहरीलाई बुझाइएको छ ।
रिपोर्ट जिल्ला प्रहरी कार्यालय नवलपरासी नआइपुगेको सापकोटाले बताए ।
Post a Comment