Sunday, June 12, 2016

आन्तरिक परीक्षामा फेल भएको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई कारवाही गर्न माग


कावासोती, २९ जेठ । नवलपरासीको कावासोती नगरपालिका ४ हसौरामा रहेको सरस्वती उच्च माविको कक्षा १० को आन्तरिक परीक्षामा विद्यार्थीहरु फेल भएको भन्दै विद्यार्थीलाई कुटपिट गर्ने दुई शिक्षकलाई कारवाही गर्न पीडित बालिकाको अभिभावकले माग गरेका छन् । 
बालिका नैनासरा वयम्वुको बुवा भिमबहादुर वयम्वुले आइतबार इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका हुन्। 
कक्षा १० का छात्रछात्राहरु अनुत्तीर्ण भएपछि विद्यार्थीहरुलाई सुधार्ने बाहानामा कुटपिट गरिएको हो । कुटपिट पछि धौवादी–७ की १७ बर्षीया विद्यार्थी नैनासरा वयम्वु मगर मानसिक रुपमा प्रभावित भएका छन् । 
उनी अझै पनि विद्यालय गएका छैनन् भने बालिका अझै वेहोस हुने गरेको कारण उनलाई आइतबार विहान मात्र भरतपुर अस्पतालमा उपचार गरेर ल्याएका बालिकाका पिता भीम वहादुर वयम्बु मगरले बताए ।
उनी अझै पनि बेलाबेलामा वेहोस हुने घरि घरी तर्सने, आत्तिने गरेको पिता वयम्वुले बताए । 
वयम्वुले आफ्नी छोरीलाई शिक्षक सुरेन्द्र भुर्तेल र आनन्द अधिकारीले कुटपिट गर्ने क्रममा मानसिक सन्तुलन कमजोर भएको भन्दै दोषीलाई कारवाही र छोरीको उपचार गरी पाउ भन्दै इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेका हुन् । 
कक्षा १० को आन्तरिक रुपमा लिईने परीक्षामा अनुर्तिण भएको भनी विद्यालयका शिक्षक सुरेन्द्र भुर्तेल र आनन्द अधिकारीले विद्यार्थीहरुमाथि कुटपिट गरेको घाइते विद्यार्थीका अभिभावक भीम वहादुर वयम्बु मगरले बताए । कुटपिटले शरीरमा निलडाम समेत बसेको छ ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोग बुटवलको टोलीले घटनाको बारेमा अनुगमन गरेकोछ । मानव अधिकार आयोगको टोलीले विद्यालयमा शिक्षक, अभिभावक, विद्यार्थीका साथै पीडित बालिकाका अभिभावकलाई भेटघाट गरेका छन् ।  

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal