Thursday, December 29, 2016

उखुको मूल्य निर्धारण नहुंदा सस्तोमा उखु बेच्न किसान बाध्य


 रामकुमार श्रेष्ठ


नवलपरासी, १५ पुस । नवलपरासीमा उखुको मूल्य अझै निर्धारण हुन नसक्दा उखु किसानहरु मारमा परेका छन् ।
नवलपरासीमा अहिले सुनवल चिनी कारखाना, इन्दिरा सुगर मिल र बागमति खाडसारी मिल गरी तीन वटा मिलले उखु क्रसिङ्ग गरेको छ । त्यसका अलवा सयांैको सख्यामा रहेक भेली मिल अर्थात क्रसर मिलले पनि भेली उत्पादनका लागि उखु क्रसिङ्ग गरेको छ ।
उखुको मूल्य निर्धारण नहुंदा किसानहरुले दलाली मार्फत् चिनी मिललाई सस्तोमा उखु दिएको छ । सरकारले उखुको मूल्य निर्धारण नगर्दासम्म प्रति क्विन्टल ५ सयका दरले चिनी मिलले उखु खरिद गर्ने जनाएपनि दलाली मार्फत् चार सय ९२ रुपैयां प्रतिक्विन्टल विक्री गरेका छन् । त्यो पनि केही दिन नगद भुक्तानी पाएपनि पछिल्लो समय भुक्तानी नपाएको कुडिया ४ रेताका किसान रामचन्द्र पोख्रेलले बताए ।
उखु किसान महासंघले यस बर्ष उखुको मूल्य प्रतिक्विन्टल पांच सय १७ रुपैयांदेखि पांच सय २७ रुपैयांको बीचमा हुनु पर्ने माग गरेका छन् । यस बर्ष नेपालमै उखु उत्पादन अहिले सम्मकै कम भएको कारण चिनी मिलहरुले किसानले मागे जति मूल्य दिन तयार रहे जस्तो देखिएपनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाई गरेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।
प्रतापपुर १ खैरहनीका उदय कोइरीले आफूले घरमा पैसाको अत्यावश्यक परेकोले प्रतिक्विन्टल पांच सय ९२ रुपैयांको दरले विक्री गरेको बताए। अध्यक्ष यादवले भने केही दिन उखु नबेच्न र नआत्तिन किसानहरुलाई आग्रह गरेका छन् । त्यस्तै किसानहरुले भेली मिलमा समेत चार सय ९० देखि पांचसय प्रतिक्विन्टलका दरले उखु विक्री गरेका छन् । 


सबैभन्दा न्यून उत्पादन

नवलपरासी । नवलपरासीमा यस बर्ष अहिले सम्मकै सबैभन्दा न्यून उखु उत्पादन भएको छ । उखुको मूल्य बेलैमा निर्धारण नहुने र किसानहरुले भुक्तानीका लागि बर्षौ कुर्नु पर्ने बाध्यताले गर्दा उखु उत्पादन घटेको कुडिया ४ रेताका किसान रामचन्द्र पोख्रेलले बताए । उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले गत बर्ष १५ लाख क्युन्टल उखु उत्पादन भएकोमा अहिले बढीमा ८ क्युन्टल उखु उत्पादन भएको बताए । त्यस्तै गत बर्ष साढे १२ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएकोमा यस बर्ष जम्मा साढे ५ हेक्टर क्षेत्रफलमा मात्रै उखु खेती गरिएको छ । उखु खेती छाडेर किसानहरु केरा, सुर्ती लगायतका खेतीतर्फ आकर्षित भएका छन् ।

तौलमा पनि ठगिदै

नवलपरासी । नवलपरासीका उखु किसान तौलमा ठगिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा विभिन्न स्थानमा व्यक्तिले सञ्चालन गरेको तौल केन्द्रमा वास्तविक तौलभन्दा कम तौल देखाएर किसान ठगिने गरेको पाइएको हो ।
जिल्लामा अवैध रुपमा सञ्चाल गरिएका तौल केन्द्रले वास्तविक तौलभन्दा कम तौल देखाउने गरेको पाइएको अनुगमनमा खटिएका सहायक प्रजिअ माधवप्रसाद ढुंगानाले बताए ।
तौलमा ठगी गरेको पाइएपछि बौदौली र भुजहवामा सञ्चालित तौल केन्द्रमा सिलबन्दी गरिएको छ, सहायक प्रजिअ ढुगांनाले बताए ।
उखु किसान समिति नवलपरासीका अध्यक्ष यादवले आफूहरुको आग्रहमा अनुगमन हुंदा फेला परेको बताए ।

भेलीको मूल्य पनि सस्तो

नवलपरासी । नवलपरासीमा झण्डै एक सयको हाराहारीमा भेली मिलहरु सञ्चालनमा रहेका छन् । यि मिलहरुले ३ लाख क्युन्टलको हाराहारीमा उखु क्रसिङ्ग गर्दछ । उनीहरुले अहिले उखु अभावका कारण उखु प्रति क्विन्टल पांच सय रुपैयांका दरले खरिद गरेपनि भेलीको भाउ भने नआएको बताए ।
अहिले भेली मिलबाट व्यापारीहरु भेली प्रति किलो ग्राम ६० रुपैयांका दरले लैजाने गरेको छ । श्रीराम क्रसर (भेली) उद्योगका सञ्चालक गणेश चौधरीले भेली कम्तिमा ६५ रुपैयां किलो विक्री भए केही नाफा हुने बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal