रामकुमार श्रेष्ठ
कावासोती, २६ मंसिर ।
पूर्वपश्चिम लोकमार्गको बुटवल नारायणगढ सडक खण्डको अधिकांश पुल जीर्ण भएको छ । जसले गर्दा पटक पटक पुल भांचिने र यात्रुहरुले घण्टौं सास्ती खेप्नु पर्ने बाध्यता आइलागेको छ ।
२०१८ सालमा शिल्यान्यास गरी सडक निर्माण शुरु भएकोमा नवलपरासीमा रहेको अधिकांश पुलहरु २०३० सालमा निर्माण भएका हुन् । सामान्यतया ५० बर्षको आयु हुने यि पुलहरुको आयू प्राय सकिएको छ । जसले गर्दा अहिले खाली गाडीले ठक्कर दिंदा समेत पुल क्र्याक हुने गरेको छ । यसको पछिल्लो उदाहरण बनेको छ । नवलपरासीको देवचुली नगरपालिका १३ दलदले नजिकै रहेको बौलाहा खोलाको पुल । ६४ मिटर लम्बाई रहेको यो पुल आइतबार विहान ना ६ ख ३०१७ नम्बरको ट्रकले ठक्कर दिएपछि भांचिएको हो । पुल खाली ट्रकको ठक्कर पछि भांचिएर एक फिट तल लच्केको छ । पुल भांचिएपछि अवरुद्ध भएको सडकमा अहिले कच्ची डाइभर्सन बनाएर बाटो सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाले बताए ।
यस अघि नवलपरासीको गैडाकोटमा रहेको जयश्री खोलाको पुल दुई पटक र कावासोतीको लोकाहामा रहेको लोकाहा खोलाको पुल एक पटक भांचिएको थियो । त्यसका अलवा नवलपरासीको चोरमारा, अरुणखोलामा रहेको पुलहरु पनि जीर्ण भएका छ । उक्त पुल सडक डिभिजन कार्यालयले मर्मत गरेर सञ्चालनमा ल्याइरहेको छ । जयश्री खोलाको पुल पुननिर्माण थालिएको डेढ बर्ष हुन खोज्दा समेत अझ निर्माण पुरा हुन सकेको छैन । उक्त स्थानमा बेली ब्रिज हालेर पुल निर्माण गरिएको छ ।
सडक डिभिजन कार्यालय बुटवलका शव इन्जिनियर पदम अधिकारीले पुलहरु मर्मत गर्नु पर्ने अवस्थामा पुगेको बताउंदै केही पुलहरु मर्मत गरिएको जानकारी दिए । बौलाहा खोलाको पुल पनि प्राविधिक परीक्षण गरेर मर्मत पछि पुनसञ्चालन गर्न सकिने हो वा पुननिर्माण गर्ने नसकिने हो परीक्षण पछि मात्र थाहा हुने बताए ।
स्थानीय बासिन्दाका अनुसार बौलाहा खोलाको यस अघि पनि सामान्य तथा चर्किएको थियो । बेलैमा मर्मत नगर्दा अहिले पुल भांचिन पुगेको हो । स्थानीय बासिन्दा चित्तलसिंह राना मंगलसेनले राज्यले बेलैमा पुल मर्मत नगर्दा पुल भांचिन पुगेको र पटक पटक यात्रुले सास्ती पाउनु परेको गुनासो गरे ।
भांचिएको पुल पूर्ण रुपमा सञ्चालन हुन सक्ने अवस्थामा छैन । त्यसलाई मर्मत गरेर वा पुननिर्माण गरेर सञ्चालन गर्न लामो समय लाग्ने बताइएको छ । अहिले पुलको उत्तरतर्फको अस्थायी डाइभर्सनबाट पश्चिमबाट पूर्व जाने सवारी साधनलाई पास गराइएको छ भने दक्षिणतर्फको अस्थायी डाइभर्सनबाट पूवबाट पश्चिम आउने सवारी साधनलाई पास गराइएको छ । स्थायी डार्भसन निर्माण कार्य थालनी गरिएको भएपनि कम्तिमा दुई दिन लाग्ने बताइएको छ ।

Post a Comment