रामकुमार श्रेष्ठ
कावासोती, ६ माघ । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ मदनपुर ३६ बर्षीय थानेश्वर भुसाल ३ बर्षदेखि साउदीको जेलमा रहेका छन् । उनलाई दुर्घटनामा लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । दशंै यता छोराले फोन नगरेको थानेश्वरका आमा यमकला भुसालले बताइन् ।
आमा यमकलाले भनिन् – अन्तिम पटक दशैंको टिको दिन फोन गरेको थियो । फोनबाट आर्शिवाद दिए । त्यसपछि सम्पर्क छैन । आमा यमकलाका अनुसार थानेश्वरले फोन गर्दा आफूसंग मोबाइल पैसा नभएको र साथी भाई कसैको मोबाइलमा पैसा हुंदा फोन गर्न पाउंदा गर्छु । तपाईहरुले नगर्नु यहां त्यो नम्बरमा फोन लाग्दैन भनेर भन्ने गर्दथे ।
थानेश्वरको परिवारले थानेश्वरलाई छुटाउन पटक पटक पहल गरेपनि छुटाउन नसकेको र उनलाई नेपाल फर्काउनका लागि पहल गरिदिन थानेश्वरको परिवारले आग्रह गरेका छन् ।
दुई भाइ दाजुभाइ मध्ये जेठा छोरा थानेश्वर भुसाल ६ बर्ष अघि साउदी गएकोमा तीन बर्षदेखि साउदीको जेलमा छन् । भने कान्छो भाइ हिमप्रसाद भुसाल कतारमा चारबर्षदेखि कार्यरत रहेका छन् । भाइ दोस्रो पटक वैदेशिक रोजगारका लागि कतार गएका हुन् ।
२०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए । उनले चलाएको ट्रिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारी साधनमा रहेका र ठक्करबाट धकेलिएको ट्रिपरले अगाडि ठक्कर दिने अर्को सवारी साधनमा रहेका गरी २ जनाको ज्यान गएको थियो ।
थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटनामा पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउँन खोज्दा कम्पनीको साहूले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताइन् ।
पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी अहिले ३ बर्षदेखि जेलमा रहेका छन् ।
के विषयमा मुद्दा हालिएको छ ? कति सजाय तोकिएको छ छैन
आफूहरुलाई प्रष्ट जानकारी नभएको भुसालकी दिदी कृष्णमाया भट्टराईले बताइन् ।
उनीहरुले सामी परियोजनामा रिहाईका लागि पहल गरिदिन आग्रह गरेको र सोही अनुसार काम अगाडि बढाएको सामी परियोजनाका रितुराम सोतीले बताए।
उनका परिवारले परराष्ट्र मन्त्रालय, साउदीमा रहेको नेपाली दुताबासमा समेत रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए। दुताबासले पहल गरिरहेको दुताबासका रेवती पौडेललाई उद्धृत गर्दै उनका आमा यमकला भुसालले बताइन् ।
उनी हसेन हल हर्वीमा काम गर्दथे। कम्पनीले लाइसेन्स नदिएको कारण थानेश्वर भुसाल जेल परेको हुन सक्ने उनीहरुको अनुमान छ । इन्नोभेटिभ मेनपावर कम्पनीबाट विदेश गएका उनलाई कम्पनीले छुटाउन कुनै पहल नगरेको र कम्पनीलाई आग्रह गर्दा अहिले फोन समेत नउठाउने गरेको आमा यमकलाले बताइन् ।
थानेश्वरकी दिदी भट्टराईले मेन पावर कम्पनी र थानेश्वरले काम गर्ने कम्पनी दुवैले छुटाउनका लागि कुनै पहल नगरेको बताइन् ।
श्रीमान् दुर्घटनामा परेर जेल परेको थाहा पाएपछि उनकी श्रीमतीले घर छाडेर गएकी छिन् ।
उनले विवाह गरेको केही समयमै विदेश गएका थिए। थानेश्वरकी आमा छोरा रिहाई भएर आए अब विदेश नपठाउने र घरै सुखदुख गरेर बस्न लगाउने समेत बताइन् ।
छोरा जेल परेको थाहा पाएपछि विक्षिप्त भएकी आमा यमकला भुसाललाई सामी परियोजनाले मनोपरामर्श दिएको र थानेश्वरलाई छुटाउन पहल गरिरहेको सामी परियोजनाका मनोपरामर्श दाता रामु बरालले बताए ।
किन गए साउदी
एसएलसीसम्मको अध्ययन गरेका थानेश्वर त्यसपछि भारततर्फ लागे । भारतमा पनि ट्रिपर चालकको रुपमा काममा गएका उनी भारतबाट फर्केपछि विवाह गरेर घर खर्च धान्नकै लागि र छोराछोरीको सुनौलो भविश्वको कामना गर्दै साउदी गएका हुन् ।
थानेश्वरकी दिदी कृष्णमाया भट्टराईले शुरुमा राम्रै तलब पाएको र राम्रो कमाई भएको बताइन् । उनले साउदीको १८ सय रिलय तलब खाने गर्दथे । दुर्घटनाबाट घाइते भई सन्चो भएपछि र पहिलो पटक जेल मुक्त भएपछि पनि राम्रै कमाएका थिए ।
उनले साउदीमा पनि ट्रिपर चालककै रुपमा काम गरेका थिए । पारिवारिकका अनुसार उनीसंग नेपालको लाइसेन्स भएपनि साउदीको ड्राइभिङ्ग साइसेन्स नभएका कारण थानेश्वर समस्यामा परेका हुन् ।
भाई पनि विदेशमै
दुई दाजुभाई भुसालको घरायसी अवस्था खासै कमजोर होइन् तथापि दुवै जना सुनौलो भविश्वको सपना बोकी विदेश हादिएका हुन् ।
थानेश्वरको भाई हिमप्रसाद भुसाल स्नाकोत्तर तहको अध्ययन गर्दा गर्दै विवाह गरेपछि पढाईलाई बीचमा चटक्कै माया मारेर विदेश गएका हुन् ।
आमाले यमकलाले भन्छिन् – “दुवै भाइ विदेश जाने होइन् । घर गरी खानु पर्छ भनेको थिए । मानेन । कमाउनु पर्छ भनेर कान्छा छोरा पनि विदेश गएको छ । दुवै भाई घर आएर घर धानेर बसे हुन्थ्यो ।”
कहांं कहां धाए थानेश्वरका परिवार
थानेश्वरका परिवार थानेश्वरको खोजी र रिहाईको पहल गरिदिन भन्दै सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने संस्था सामी परियोजनादेखि लिएर परराष्ट्र मन्त्रालयसम्म धाएका छन् ।
त्यति मात्र नभएर थानेश्वरलाई विदेश पठाउने मेन पावर कम्पनी इन्नोभेटिभ ह्युमन रिशोर्स डेभ्लब्मेण्ट प्रा.लि.पनि पुगे । कम्पनीले कुनै पहल नगरेको र पछिल्लो समय फोन समेत नउठाउने गरेको आमा यकमलाले बताइन् ।
उनका परिवार साउदीमा रहेको नेपाली दुताबासको नम्बर खोजेर सोझै सम्पर्क पनि गरेका छन् । दुताबासले थानेश्वरलाई भेट्न उनलाई राखेको जेलसम्म गएपनि भेट्न नदिएको उनले बताइन् ।





Post a Comment