दाउन्ने संवाददाता
कावासोती । नवलपरासीका निजी विद्यालयहरुले एसएलसी कक्षा १० को परीक्षा नजिकिदंै गर्दा तयारी कक्षाको नाममा विद्यार्थीहरुसंग महंगो शुल्क असुलेको पाइएको छ ।
विद्यार्थीहरुसंग ८ सय रुपैयांसम्म शुल्क लिएको अभिभावकहरुले गुनासो गरेका छन् । जिल्ला शिक्षा कार्यालय नवलपरासीले पनि शुल्क लिएको भेटिए सचेत गराइने जनाएको छ । टेष्ट परीक्षाको झल्को दिने गरी गरिएको यस परीक्षाको नाममा विद्यार्थीहरुलाई एसएलसी कक्षा १० को परीक्षामा सहभागी हुनबाट विद्यार्थीहरुलाई रोक्ने सम्झावना पनि उत्तिकै रहेको छ ।
नवलपरासीमा अहिले प्याब्सन नवलपरासीमा आवद्ध ८६ वटा विद्यालयका करिब ३ हजार विद्यार्थीहरु एसएलसी कक्षा १० परीक्षाको पूर्व तयारी कक्षामा रहेका छन् । टेष्ट परीक्षाकै झल्को दिने गरी विद्यार्थीहरुसंग महंगो शुल्क असुलेर आसपासका विद्यालयका विद्यार्थीहरुलाई एक ठाउंमा केन्द्र तोकि परीक्षा लिइएको छ ।
नवलपरासीमा ६ गतेबाट परीक्षा शुरु भएको हो । परीक्षामा प्रति विद्यार्थी ८ सय रुपैयांसम्म शुल्क लिइएको छ । तथापि प्याब्सन नवलपरासीका अध्यक्ष रामप्रसाद पाण्डेले भने प्याब्सनले कुनै पनि शुल्क लिने निर्णय नगरेको बताए ।
उनले यो परीक्षा तयारी अभ्यास परीक्षा भएकोले कुनै पनि विद्यालयले यो परीक्षाको वाहानामा परीक्षार्थीहरुलाई एसएलसी कक्षा १० को परीक्षाबाट रोक्न नपाउने बताए ।
केही बर्ष अगाडिदेखि विद्यार्थीहरुलाई टेष्ट परीक्षाको नाममा एसएलसी परीक्षामा रोक्न नपाइने कानुनी प्रावधान रहेका छ । प्याब्सन नवलपरासीका अध्यक्ष रामप्रसाद पाण्डेले परीक्षा शुल्क लिने निर्णय नभएको बताए पनि प्याब्सन नवलपरासीका सचिव भीम कंडेलले भने परीक्षा सञ्चालन स्टेशनरी लगायतका लागि लाग्ने खर्च लिइएको बताए ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि परीक्षा लिनु आवश्यक रहेको भएपनि परीक्षाको नाममा विद्यार्थीलाई एसएलसी कक्षा १० को परीक्षामा सहभागी हुनबाट रोक्न नपाइने नवलपरासीका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए ।
उनले विद्यार्थीहरुसंग परीक्षा सञ्चालनका लागि भनेर सामान्य खर्च लिइनु सामान्य भएपनि अत्यधिक शुल्क असुलेको पाइए अनुमगन गरेर सचेत गराउने बताए ।
निजी र सामुदायिक विद्यालयका परीक्षाफल हेर्दा सामुदायिक विद्यालयको तुलनामा नवलपरासीका निजी विद्यालयको नतिजा राम्रो आएको देखिन्छ । तथापि निजी विद्यालयले अनुतीर्ण हुने जस्तो देखिएका विद्यार्थीहरुलाई परीक्षामै सहभागी नगराउने गरेको पनि चर्चा चल्ने गर्दछ ।

Post a Comment