Friday, January 6, 2017

धुलोले असर परेको भन्दै स्थानीयको विरोध

रामकुमार श्रेष्ठ














 
नवलपरासी, २२ पुस । नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेको बौलाहा खोलाको पुल भांचिएपछि सञ्चालनमा आएको डाइभर्सनबाट अत्यधिक ठूलो उडेका कारण स्थानीयलाई सास्ती भएको छ ।
पुल भत्किएको एक महिना वितिसक्दा पनि पुल मर्मतमा चांसो नदिएको र डाइभर्सनबाट अत्यधिक धुलो उडेर स्थानीयलाई सास्ती भएको भन्दै स्थानीय शुक्रबार सडक अवरुद्ध गरेर विरोध समेत जनाएका थिए । 
मंसिर २६ गते विहान ना ६ ख ३०१७ नम्बरको ट्रकले ठक्कर दिएपछि पुल भांचिएको हो । उक्त पुल भांचिए पछि अहिले डाइभर्सनमार्फत यातायात सञ्चालनमा रहेका छन् । डाइभर्सनबाट यातायात सञ्चालनमा आउंदा धुलो उडेर सास्ती भएको देवचुली ५ कदमपुरका बासिन्दा रुक्मागत आचार्यले बताउनुभयो ।
उहांले डाइभर्सनबाट यातायात सञ्चालन हुंदा गाउं धुलाम्य भएको, बाटोमा हिड्न सास्ती भएको स्वास्थ्यमा समेत असर परेको बताउनुभयो ।
पुल भांचिएपछि पुलदेखि पचास मिटर उत्तरतर्फबाट डाइभर्सन सञ्चालनमा ल्याइएको हो । पुलमा यातायात बन्द गरिएपनि पुल मर्मतमा सडक विभागले चांसो दिएको छैन । जसले गर्दा स्थानीयलाई एकातिर धुलो उडेर सास्ती भएको छ भने अर्कोतर्फ बर्षामा डाइभर्सन पुरै भत्कने खतरा रहेको छ । अर्का स्थानीय बासिन्दा राजु गैरेले धुलो बस्न, हिडडुल गर्न, घर बाहिर लत्ता कपडा, अन्न सुकाउन समेत नहुने बताउनुभयो ।
सडक विभागले पुलको उत्तरतर्फको भागबाट गराएको डाइभर्सनमा पानीको निकास दिएको छैन । बर्षाको समय निक्कै ठूलो बाढी आउने खोलामा पानीको निकास नै नदिई बांध बाधेझै गरेर डाइभर्सन बनाएका कारण पनि स्थानीयले तत्काल पुल बनाउन र डाइभर्सन भत्काउन माग गरेका हुन् । बर्षा लाग्दा सम्म पुल पनि नबनाउने र डाइभर्सनमा पनि पानी निकास हुने नगराई यही अवस्थामा राखे बर्षामा डाइभर्सन बगाएर सडक पुन बन्द हुने अथवा गाउंमा बाढी पस्ने सम्भावना रहेको स्थानीय बासिन्दा रुकमागत आचार्यले बताउनुभयो ।
नवलपरासीमा पूर्वपश्चिम राजमार्ग निर्माणको समयमा २०३० सालमा निर्माण गरिएका यस्ता अधिकांश पुलहरु जीर्ण भएका छन् । यस अघि नवलपरासीको गैडाकोटमा रहेको जयश्री खोलाको पुल दुई पटक र कावासोतीको लोकाहामा रहेको लोकाहा खोलाको पुल एक पटक भांचिएको थियो ।
त्यसका अलवा नवलपरासीको चोरमारा, अरुणखोला, दुम्किबासमा रहेको पुलहरु पनि जीर्ण भएका छन् । उक्त पुल सडक डिभिजन कार्यालयले मर्मत गरेर सञ्चालनमा ल्याइरहेको छ । जयश्री खोलाको पुल पुननिर्माण थालिएको डेढ बर्ष हुन खोज्दा समेत अझ निर्माण पुरा हुन सकेको छैन । उक्त स्थानमा बेली ब्रिज हालेर यातायात सञ्चालनमा ल्याइएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal