Saturday, January 7, 2017

चोरीका नदीजन्य पदार्थ समातेपछि एलडिओ र योजना अधिकृतको सरुवा

रामकुमार श्रेष्ठ


नवलपरासी, २४ पुस । चोरी गरी ल्याइएका नदीजन्य पदार्थ पक्राउ गरेर जरिवाना लगाएपछि नवलपरासीका स्थानीय विकास अधिकारी जीवलाल भुषाल र योजना तथा प्रशासकिय अधिकृत प्रकाश पंथीको सरुवा भएको छ । स्थानीय विकास अधिकारी भुषाल मंसिर २२ गते बांके जिविसबाट नवलपरासीमा सरुवा भएर आएका हुन् ।

उनले मंसिर २५ गते कावासोतीको केरुंगे खोलाबाट नदी जन्य वस्तुको अवैध निकासी गरिरहेको बेला टिप्पर, एक्साभेटर, जेसिभी र ट्याक्टर नियन्त्रणमा लिएका थिए ।

त्यति बेला स्थानीय विकास अधिकारी भुसाल र जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रशासकीय अधिकृत बलराम अर्याल स्वयम् खोलामा आएर नवलपुर प्रहरीको सहयोगमा टिप्पर, एक्साभेटर, जेसिभी र ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

उक्त दिन केरुङ्गे खोलाबाट २४ वटा टिप्पर, २ वटा एक्साभेटर, एउटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

केरुङ्गे खोलामा संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा २४ टिपरसहित २८ सवारी साधन नियन्त्रणमा लिएर ६५ लाख जरिवाना तोकेका थिए ।

स्मृति निर्माण कम्पनी नारायणी–९ नवलपरासीको नाउंमा जरिवाना तोकेपछि १६ टिपरहरुले ३५ लाख राजश्व बुझाएर छुटेका छन् । अन्य टिपर इलाका प्रहरी कार्यालय कावासोतीमा रहेका छन् ।

नवलपरासीको केरुंगे खोला, विनय खोला, पत्थर खोला लगायतका खोलाहरुबाट अझै पनि अवैध निकासी हुने गरेको छ भने क्रसर व्यवसायीले अघिल्लो बर्षको स्टक भन्दै खोला छेउ नदीजन्य वस्तु थुपार्ने गरेको छ ।

क्रसर व्यवसायीले दुई बर्ष अगाडि खोलाबाट निकालेको गिटी बालुवा तथा नदीजन्य वस्तु अझै पनि जस्ताको तस्तै छ ।

सवारी साधन नियन्त्रणमा लिएसंगै भुषालले केरुङ्गे खोलामा संकलन गरी राखेका करिब ३० करोड बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रकृया अघि बढाएका थिए ।

त्यसपश्चात कारोबारमा संलग्न व्यवसायीहरु केही नेताको सहयोगमा भुषालको सरुवा गराउन मन्त्रालय दौडधुप गरेका थिए । उनको शुक्रबार स्थानीय विकास मन्त्रालयले धार्दिङ जिविसमा काज सरुवा गरेको छ ।

उनको स्थानमा स्थानीय विकास मन्त्रालय पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाइएको छ ।

अवैध नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रण अभियानमा सहयोग गरेको भन्दै योजना अधिकृत पंथीलाई मन्त्रालयमा काज सरुवा गरिएको छ । पन्थी दुई वर्षअघि जिविसमा आएका हुन् ।

कर्मचारीहरुको सरुवा गर्ने समय नभएपनि नदीजन्य पदार्थ चोरी नियन्त्रण अभियानमा स्थानीय विकास अधिकारीलाई सघाएको भन्दै पन्थीलाई मन्त्रालय काज सरुवा गरिएको जिविस कर्मचारीले बताएका छन् ।

पन्थीको स्थानमा स्थानीय विकास मन्त्रालयका यज्ञ पुरीलाई पठाइएको छ ।

‘जिल्लामा सरुवा भएर आउने वित्तिकै मैले राजश्व संकलनलाई पहिलो र विकासका गतिविधिलाई दोस्रो प्राथमिकतामा राखेर मिशन चलाएको थिए तर मेरो मिशनलाई सिमित लाभको पछाडी लाग्ने केही नेताहरु र व्यवसायीहरुको असहयोगले मेरो सरुवा भएको छ । यो प्रवृत्तिले जिल्लाको विकास पछि पर्छ । स्थानीय विकास अधिकारी भुसालले भन्नुभयो ।

उहांले आफ्नो सरुवाको लागि व्यापक दबाब आएको तर मन्त्रालयले सक्दासम्म थेगेको बताउनुभयो । उहांले नदीजन्य पदार्थ अवैध निकासी रोकेकै कारण सरुवा भएको दावी समेत गर्नुभयो ।

उहांले मन्त्रालयले आफूलाई राम्रै ठाउंमा सरुवा गरेकोले आफूमाथिको कारवाही नभएको र मन्त्रालयले आफूलाई सक्दो सहयोग गरेको पनि बताउनुभयो ।

सरुवा भएर आए लगत्तै भुषालले अवैध नदीजन्य पदार्थ नियन्त्रण गरी जिल्लाको राजश्व बृद्धिमा सहयोग गरेको र उनको सरुवा भए जिविस परिषद्ले आर्थिक वर्ष २०७४÷०७४ का लागि सञ्चालन गर्ने योजना र कार्यक्रमसमेत प्रभावित हुने भन्दै संयुक्त मधेसी मोर्चा नवलपरासीले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाएको थियो ।

‘जिल्लामा हुने अवैध कारोबार नियन्त्रण गरेर करिब ३० करोड बढी जिल्लालाई आम्दानी गराउन सक्रिय रहेकाले स्थानीय विकास अधिकारी भुषालको सरुवाले नवलपरासीको विकासमा अवरोध आएको छ ।’ संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले भने,‘अवैध सामग्री जफत गर्ने प्रतिबद्धता नजनाएसम्म जिविसमा तालाबन्दी गरेर नयाँ एलडिओलाई हाजिर हुन दिन्नौं ।’

तमलोपाका कार्यबहाक अध्यक्ष पुरन चौधरीले जिल्लाको विकासका लागि काम सुरुवात गरेर प्रशंसा बटुलि रहेका स्थानीय विकास अधिकारीको सरुवाले समग्र राम्रो छवि बटुलेका निजामती कर्मचारीहरुको मनोबल घटाउने काम गरेको बताए ।

नवलपरासीका मधेषी दलहरुले भने नयां स्थानीय विकास अधिकारी नवलपरासीमा पठाए हाजिर हुन नदिने र भुसाललाई नै काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal