गोपी ज्ञवाली
२०६० साल फागुन १ गतेको कुरा हो । हामी बसेको पसलदेखि दक्षिणतर्फका पसलहरुमा एउटा लेदरको जकेट लगाएको, आंखामा कालो चस्मा लगाएको, लगभग ३०÷३५ बर्षको मान्छे देखा पर्दछ । उसलाई हेर्दाहेर्दै अर्कोतर्फ अगाडिको सडक छेउ रुखको आड लागेर आधुनिक हतियार बोकेको मान्छे उभिएको देखिन्छ। सडक छेउको मानिसले हतियारलाई दाहिने हातले आफ्नो शरिरसंग टासेर राखेको छ । सायद लुकाउने कोशिसमा हो, मैले उसलाई देखे तर उसले मलाई देख्न सकेन ।
हेर्दा हेर्दै केही सेकेन्ड भित्रै यस्तै हतियार लिएका सादा पोशाकका मानिसहरु सडकको छेउछाउ विभिन्न स्थानमा छ्यापछ्यापती देखा परे । यिनीहरु कहांबाट कसरी आए सोच्न नभ्याउदै, कालो जकेट लगाएको त्यो ब्यक्ति छिटोछिटो लामा पाइला सार्दै म तर्फ आउदै गरेको देखें। त्यो कालो चस्मा लगाएको मान्छे मेरो नजिक आउन नभ्याउदै मेरो छेउछाउ बसेका केही समय पहिला मात्र भेट भएका युवा साथीहरु हराए । मैले खसाखुसु तरिकाबाट धेरै गडबड भई सकेको बुझें। यस्सो उभिन मात्र के लागेको थिए त्यो कालो जकेट वाला मान्छेले टाढैबाट औलो ठड्याउदै मलाई पर्खनुहोस् भन्यो । मैले मेरो मुटुको चाल बढेको महसुस गरें। यतिबेरसम्म मैले कुरा बुझे ज्ञानेन्द्र शाहीका सेनाले हामीलाई घेरा हाली सकेको रहेछन्।
म बसेको बेन्चबाट उभिन मात्र के लागेको थिए कालो चस्माधारीले कमरबाट सानो हतियार (माउजर) निकालेर मेरो निधार अगाडि तान्दै बस्न भन्यो । उसले सोधे अनुसार मेरो नाम, थर र घरको बारेमा बताए“। यहां आउनुको कारण पनि बताए“। मेरो उत्तरबाट ऊ सन्तुष्ट भए जस्तो मलाई लाग्यो।
त्यसपछि ऊ मेरो छेउमा बसेका विश्वजित (दिनेश गौतम) लाई सोधपुछ गर्नतर्फ लाग्यो। विश्वजितले अलि अकमक गर्दै घर कैलाली र यो ठाँउमा दक्षिण भारतीय फास्टफुडको पसल व्यवसाय गर्न स्थान खोज्न आएको उत्तर दिने वित्तिकै कालो चश्माधारीले हामीसंग हिड भन्यो। मैले प्रतिवाद गर्दै म किन जाने म त घर जान्छु भन्ना मात्र के भ्याएको थिए ऊ भडकियो र फेरि सानो हथियार निकालेर अब बोले यही मारी दिने बताए पछि अगाडि बोल्ने अवश्था भएन। त्यस पछि हामी दुबै गिरफतार भएको बुझियो । यो घटना रुपन्देहीको शंकरपुर गाविसको शंकरपुर चोकमा भएको घटना हो ।
कालो चश्मा लगाएको मानिसले केही पहिलासम्म संगै भएका र अहिले भागेका ३ जना केटा को थिए ? भनी सोध्यो। मैले म तिनीहरु कसैलाई नचिनेको उत्तर दिए“ । विश्वजितले पनि त्यस्तै उत्तर दिनुभयो । त्यति बेरसम्म अगाडि बाटोमा रातो मारुती भेन आइसकेको रहेछ । हामीलाई त्यसै भेनमा बस्न लगाईयो । भेनमा बसे पछि एक जना बन्दुक बोकेको, सादा पोशाकमा भएको मानिसले हामी दुबैको शरीर मोटामोटी चेक गर्यो । उसको चेक गर्ने तरिका हेर्दा, उसले हाम्रो गोजामा वा कम्मरमा कुनै बम (ग्रीनेट) या छोटा हतियार खोजे जस्तो लादथ्यो । त्यो समयमा सरकारको तर्फबाट नेपाली सेना परिचालन गरि प्रहरी र सेनाको संयुक्त कमाण्ड सेनाले गर्ने गरेको थियो भने माओवादीले गाँउमा मात्र नभई शहरी क्षेत्रमा समेत सादा पोशाकका जनसेनालाई एसटीएफ (स्पेशल स्टक फोर्स) को रुपमा परिचालन गरेको अवश्था थियो ।
विद्रोही र सरकारी सेना बीच भेटे पछि सोधपुछ भन्दा पनि एक अर्कालाई गोली हानाहान गर्ने अवश्था थियो। हाम्रो शरिरमा गरेको खोजतलासबाट केही नभेटे पछि हामीलाई कुनै गतिविधी नगरी बस्न लगाईयो । अब म सेनाबाट गिरफ्तार भएको कुरा स्पष्ट भयो ।
त्यति बेरमै हामी रहेको सडकको पूर्व खेतको बीचबाट रातो टिसर्ट लगाएको एउटा मान्छे आधुनिक हतियार (एसएलआर) दुई हातले माथि उठाउदै हामी भएको सडक तर्फ दौडेर चिच्चाउदै आई रहेको देखियो।
हतियार दुई हातले माथि उठाउ“दै, दौडदै, चिच्याउदैै सडकतर्फ आयो। चिच्याउदै र आतंकित हुदै भन्यो, ‘साहेब हान्यो, हान्यो। माओवादीले हान्यो ।’ यताबाट प्रश्न भयो, – ‘के हान्यो ?’ साहेब, – ‘माओवादीले ग्रिनेट हान्यो।’ यता हामी भएको स्थानतर्फबाट फेरि गाली गलौचको भाषामा भन्यो – ‘साले ठोक ठोक, नहानेर किन आइस?’ सिपाहीले उत्तर दियो साहेब म्यागजीनको गोली भ्याइयो ।
यति बेरसम्म गाडीबाट बाहिर हेर्दा त्यो सानो बजारको चारैतर्फ सडकमा जताततै सादा पोषकका सेना अत्याधुनिक ठूला र साना हतियार बोकेका मान्छेहरुको बाक्लै उपस्थिति भईसकेको थियो । एउटा युद्ध मैदानको जस्तो तनाबले भरिएको स्थिति थियो । खुलेका पसल र घरहरुबाट स्थानीय मान्छेहरुले लाती लागेर हामीतर्फ हेर्दै थिए । सबै शाही सेनाहरुले युद्धमा मोर्चा कसे जस्तै गरि सबैले हतियार पोजिसनमा लिए । हाम्रो कोखामा भएका दुई सिपाहीले पनि गाडीको दुबै तर्फको सिसाबाट हतियार बाहिर निकाल्छन् । लुकाएर हिडेका वा राखेका साना ठूला हतियार सबै आफ्नो पोजिसनमा लिई तयार हुन्छन बजारमा हसंगफसंग गरि दौडादौड चल्दछ। अगाडि अर्को जिप्सी उत्तरतर्फ गएको देखेर हाम्रो भेन पनि उतैतर्फ लैजान आदेश हुन्छ ।
त्यसपछि सडकका विभिन्न स्थानमा भएका सिपाही हत्तपत्त दौडिएर गाडीमा चड्दछन् । भागेका माओवादी पूर्व गएको हल्ला हुन्छ । त्यसपछि मेरो कोखामा बसेको एउटा व्यक्तिले सेनाको जिप्सीको पछि पछि गाडी हिडाल्न अडर गर्छ । हामी चडेको गाडी फेरि उत्तरतर्फको बाटोबाट फर्किएर पूर्वतर्फको बाटोमा केही अघि चौराहामा पुगेर रोकिन्छ। हामी चडेको भेन सेनको जिप्सी पछि पछि गुडदै थियो ।
गाँउमा सारा खोज तलासी गरेपछि पनि ग्रिनेट हानेर भागेका भनिएका माओवादीलाई पक्डन सकेनन् तर उनीहरुले फालेर गएको कालो लेदरको जाकेट मात्र फेला परेछ । अलिक बेरसम्म शंकरपुर चौराहामा सादा पोशाकमा रहेका सरकारी हतियारधारीहरुको आतंक चलि राख्यो । त्यस पछि हामी दुर्ईलाई देखाउदै आतंकवादी समातेका छौ भन्दै संचार सेटबाट त्यही कालो चस्मा लगाएको मानिसले रिर्पोट गर्यो ।
त्यो रिपोटि· सायद शाही सेनाको माथिल्लो निकाएमा गरिएको थियो । संचार सेट (वाकीटकी)मा बोलेको दुवै तर्फको आवाज सजिलै सुन्न सकिएको थियो। यताबाट दुई आतंककारी समातेको र के गरौं भन्दै गरेको प्रश्नमा उताबाट जे गर्ने गर भनि आदेश भएको सुनियो। त्यस पश्चात त्यो कालो चश्मा लगाएको मान्छे रिसले आगो हुदै आयो र हामीलाई गाडीबाट बाहिर निकाल्ने आदेश गर्यो । सोधपुछ गर्दागर्दै अन्य सिपाहीले हामीलाई लात्तीले हान्न थाले । एउटा चोट कानमा एस्तो लाग्यो कि एकछिन चारै तर्फ घुमे जस्तो लाग्यो । भुईमा पल्टेछु । फेरी उठे । त्यो कालो चश्मा लगाउनेले हामीलाई अडहरको खेतमा लगि गोली हान्ने भन्दै शंकर चौराहा पूर्वतर्फको बाटोबाट पूर्वतर्फ हिडाएर लैजान आदेश ग¥यो । सानो हतियार कक (गोली लोड) गरियो ।
तीन चार जना सादा पोशाक लगाएका व्यक्तिहरुले मेरो पछाडि र दा“याबा“या तर्फबाट आधुनिक हतियार मतर्फ सोझाएर पूर्व तर्फ हिड्न लगाए। अब म मर्ने भए भन्ने निश्चित भयो। तर मर्न भन्दा पहिला केही कुराहरु मनमा उठे, मन वेचैन भयो।
यति थोरै काम मात्र गरेर जीवन यही समाप्त हुने भयो भन्ने लाग्यो । कता कता वचन पाए धेरै काम गर्ने थिए जस्तो लाग्यो तर तिनीहरुसंग रोएर जीवनको भीख माग्ने विचार भने पट्क्कै थिएन। तिनीहरुभन्दा म सही बाटोमा छु भन्ने लागिरहेको थियो। छिटै घरतर्फ पनि सम्झना आयो। आमालाई सम्झें। म मरे पछि आमा अली धेरै दिनसम्म रुनु हुने भयो भन्ने लागे पछि मन सा¥है दुख्यो । तर संगै मनमा खुसी पनि लागेको अनुभव गरें। किनभने म व्यक्तिगत स्वार्थको लागि नभएर इतिहासको एउटा कालखण्डमा हुने एउटा सामाजिक परिवर्तनका लागि म हिडेको र त्यही सिलशिलामा रहेकोमा विश्वस्त थिए।
म मरे पछि मेरी आमालाई क्रन्तिकारी योद्धा, शहिदको आमा भनेर समाजमा चिन्ने छन् भन्ने कुरा पनि मनमा आयो यस प्रकारको सोचले गर्भ लागेको अनुभुति गरे ।
क्रमशः .................
gopi.gnews@gmail.com

Post a Comment