शोभा जि.सी.
कावासोती । आजबाट कक्षा १० को परीक्षा एसईई परीक्षा शुरु भएको छ । परीक्षा विहान ८ बजेबाट शुरु भएको हो । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भईरहेको छ । नवलपरासीबाट यस बर्ष एसईई परीक्षामा ११ हजार ८ सयको हाराहारीमा परीक्षार्थीहरु आवेदन भरेकोमा ११ हजार चार सय ७० जना मात्र परीक्षार्थी सहभागी भएका छन् ।
आवेदन भरेका ३ सय ४२ जना परीक्षाका लागि अयोग्य भएको परीक्षा शाखाका पशुपति भट्टराईले बताए । उनका अनुसार विद्यालयमा हुनु पर्ने हाजिर पुरा नभएका कारण उनीहरु परीक्षामा सहभागी हुन नपाएका हुन् ।
यस बर्ष नियमिततर्फ १० हजार ८ सय ८ जना, गत बर्ष परीक्षा दिएर स्तरवृद्धिका लागि परीक्षा दिने ४ सय ९१ जना र एक्जाम्टेडतर्फ १ सय ७१ जना गरी ११ हजार ४ सय ७० सहभागी हुने भएको हो ।
परीक्षाका लागि ४१ केन्द्राध्यक्ष र धेरै परीक्षार्थी हुने परीक्षा केन्द्रका लागि दुई सहायक केन्द्राध्यक्ष गरी ५९ वटा सहायक केन्द्राध्यक्ष तोकिएको छ। परीक्षाका आवश्यक पर्ने उत्तर पुस्तिका र प्रश्न पत्र सम्बन्धित परीक्षा केन्द्र र नजिकको प्रहरी कार्यालयमा प्रश्न पत्र तीन दिन अघिनै पठाइसकिएको छ । गत बर्षसम्म एसएलसी परीक्षाको नामले चिनिएका परीक्षा यस बर्षदेखि एसईई नाम राखिएको छ ।
एसईई अर्थात् स्कूल एजुकेशन ईक्जामिनिसेन यसबर्षबाट शुरु भएको हो । यस बर्षको परीक्षाफल भने गत बर्षको झैं ग्रेडिड्ड प्रणालीमा प्रकाशित गरिने छ ।
नवलपरासीमा ४१ वटा परीक्षा केन्द्र परीक्षा सञ्चालन भईरहेको छ । यस बर्ष निजी, सामुदायिक, संस्थागत, प्राविधिक र खुल्ला विद्यालय गरी २ सय २१ वटा विद्यालयबाट परीक्षार्थीहरु सहभागी हुंदैछन् ।
परीक्षाका लागि चाहेने केन्द्राध्यक्ष तोक्ने, परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्न पत्र पठाउने लगायतका सम्पूर्ण तयारी सकिएको जिल्ला शिक्षा कार्यालय नवलपरासीका परीक्षा शाखाका पशुपति भट्टराईले बताए ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले परीक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए । एउटा परीक्षा केन्द्रमा १० जना प्रहरी खटाइने छ । परीक्षाका सुरक्षाका लागि प्रहरी, जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने छ ।
कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको हो ।
परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भईरहेको छ ।
त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ ।
विभिन्न प्राविधिक विषयसमेत गरी चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रक अम्विकाप्रसाद रेग्मीका अनुसार यस वर्षको परीक्षामा देशभरबाट ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परीक्षामा सहभागी छन् ।

Post a Comment