रामकुमार श्रेष्ठ
नवलपरासी । नवलपरासीको नवलपुर क्षेत्रमा अवैध रुपमा सञ्चालित स्वास्थ्य प्रदायक संस्थाहरु छ्याप्छ्याप्ती पाइएका छन् ।
नवलपरासीको नवलपुर क्षेत्रमा सञ्चालित स्वास्थ्य प्रदायक सस्थामा दुई दिन गरिएको अनुगमनको क्रममा यस्तो पाइएको हो ।
दुई दिन २५ वटा स्वास्थ्य संस्थामा गरिएको चेकजांचको क्रममा ९ वटा स्वास्थ्य प्रदायक संस्था अवैध रुपमा सञ्चालन गरिएको पाइएकोले जिल्ला स्वास्थ्य कार्यालय लगायतको टोलीले शिल गरेको छ ।
पहिलो दिन ७ वटा स्वास्थ्य संस्थामा चेकजांच गर्दा ५ वटा अवैध रुपमा सञ्चालन गरिएको पाइएकोले शिल गरिएको थियो ।
त्यस्तै दोस्रो दिन नवलपरासीको गैडाकोटदेखि कावासोतीसम्म १८ वटा स्वास्थ्य प्रदायक संस्थामा चेकजांच गरिएको थियो । दोस्रो दिन गरिएको चेक जांचको क्रममा ४ वटा स्वास्थ्य प्रदायक संस्थामा शिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका फोकल पर्सन एवम् हेल्थ असिस्टेन्ट अमृत कंडेलले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, साना तथा घरेलु उद्योग लगायतका प्रतिनिधिहरुको टोलीले अनुगमन गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतो नवलपरासी आएपछि उहांले अवैध रुपमा संचालित स्वास्थ्य प्रदायक संस्थाहरुमा चेकजांच बढाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतो अवैध रुपमा सञ्चालन भएको स्वास्थ्य प्रदायक संस्थाहरुलाई कारवाही गरिने बताउनुभयो ।
कुन कुन स्वास्थ्य संस्था शिल भए
२५ वटा स्वास्थ्य संस्थामा चेकजांच गर्ने क्रममा ९ वटा स्वास्थ्य प्रदायक संस्थामा शिल गरिएको छ ।
कसैको क्लिनिक, विरामी जाँच, ल्याब, विरामी भर्ना, सामान्य शल्य क्रिया लगायतमा शिल गरिएको हो । शिल गर्दा अुनमति लिएको क्षेत्र शिल गरिएको छैन भने अनुमति नलिएका मात्र शिल गरिएको थियो ।
शिल गरिएका स्वास्थ्य प्रदायक संस्था
१. गैडाकोटको अन्नपूर्ण मेडिकल हल (क्लिनिकमा शिल गरिएको )
२. मुकुन्दपुरको रंजिता मेडिको सेन्टर (क्लिनिकमा शिल गरिएको )
३. कावासोतीको संजिवनी मेडिकल हल (प्रयोगशाला, समान्य शल्य क्रिया र विरामी भर्ना सेवा शिल गरिएको)
४. कावासोतीको मनकामना हेल्थ कियर प्रा.लि.को (ओपिडी कक्ष, प्रयोगशाला कक्ष, सामान्य शल्यक्रिया कक्षा र भर्ना कक्षा शिल गरिएको)
५. गैडाकोटको ऋतिसा हेल्थ क्लिनिक (दर्ता नगरी संञ्चालन गरिएको भन्दै क्लिनिकमा सिल)
६. गैडाकोटको जीवन मेडिकल हलको (क्लिनिक सेवा शिल गरिएको)
७. बेल्डियाको सप्तगण्डकी मेडिकल हलको (प्रयोगशाला, विरामी भर्ना र जांच सेवा शिल)
८ मध्यविन्दु नगरपालिकाको (प्रयोगशाला र एक्सरे सेवा शिल)
९. भेडाबारीको मुकुन्दसेन डेण्टल केयर (पूर्ण रुपमा शिल)
के के भेटियो चेक जांचको क्रममा
चेकजांचको क्रममा सबैभन्दा बढी औषधि पसल सञ्चालनको अनुमति लिएर क्लिनिक चलाइएका, विरामी भर्ना, ल्याब सञ्चालन गरेको पाइएको छ ।
त्यस्तै कतिपयमा औषधि विक्रीको अनुमति लिएर असुरक्षित गर्भपतन गरेको समेत पाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महतोले बताउनुभयो ।
नवलपरासीका सहायक जिल्ला अधिकारी माधव ढुङ्गानाले स्वास्थ्य प्रदायक संस्थाहरुले औषधि पसलको अनुमति लिएर ल्याब, एक्सरे, भिडियो एक्सरे सेवा लगायतका सेवाहरु सञ्चालन गरिएको र कतिपयले फार्मेसीको अनुमति समेत अनुमति लिएर औषधि पसल सञ्चालन गरिएको पाइएको बताउनभयो ।
त्यस्तै कति पयमा म्याद नाघेको औषधि अत्यधिक पाइएको थियो । गैडाकोटको अन्नपूर्ण मेडिकलमा म्यान नाघेका ११ काटुन औषधि पाइएको थियो ।
त्यस्तै अन्नपूर्ण मेडिकल हल बुवा उमा पौडेलको नाममा औषधि पसल सञ्चालन गर्ने अनुमति लिएर छोरा विमल पौडेलले क्लिनिक अभ्यास गरेको, म्यान नाघेका ११ कार्टुन औषधि फेला परेको थियो ।
अन्नपूर्ण मेडिकल हलको क्लिनिकमा टोलीले शिल गरेको छ भने औषधि पसलमा सचेत गराएर छाडिएको छ । त्यस्तै मुकुन्दपुरको रंजिता मेडिको सेन्टरमा सञ्चालनको कुनै कागज पत्र नपाइएको, अवैध रुपमा क्लिनिक सञ्चालन गरिएको पाइएकोले शिल गरिएको छ ।
त्यस्तै कावासोतीको संजिवनी मेडिकल हलमा औषधि पसल सञ्चालनको अनुमति लिएर अवैध रुपमा प्रयोगशाला, समान्य शल्य क्रिया र विरामी भर्ना सेवा सञ्चालन गरिएको पाइएकोले संजिवनी मेडिकल हलको प्रयोग शाला, सामान्य शल्य क्रिया र विरामी भर्ना सेवामा शिल गरिएको छ । कावासोतीको मनकामना हेल्थ कियर प्रा.लि.को पनि ओपिडी कक्ष, प्रयोगशाला कक्ष, सामान्य शल्यक्रिया कक्षा र भर्ना कक्षा शिल गरिएको छ ।
नवलपरासीको मध्यविन्दु नगरपालिकामा रहेको कुमारवर्ती औषधालयमा फार्मेसी मात्र दर्ता भए पनि प्रयोगशाला र एक्सरे सेवा समेत सञ्चालन गरिएको पाइएको कारण औषधि पसलमा सिल गरिएको थियो ।
गैडाकोट ऋतिसा हेल्थ क्लिनिक दर्ता नगरी संञ्चालन गरिएको भन्दै क्लिनिकमा पनि सिल गरिएको हो ।
त्यस्तै अघिल्लो मंगलबार गरिएको चेकजांचको क्रममा गैडाकोटको जीवन मेडिकल हलको क्लिनिक सेवा, बेल्डियाको सप्तगण्डकी मेडिकल हलको प्रयोगशाला, विरामी भर्ना र जांच सेवा शिल गरिएको छ ।
त्यस्तै भेडाबारीको मुकुन्दसेन डेण्टल केयर पूर्ण रुपमा शिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन एवम् हेल्थ असिस्टेन्ट अमृत कंडेलले जानकारी दिए ।
एउटाको नाममा अनुमति लिएर अर्कोको नाममा सञ्चालित
कति पय औषधि पसलको अनुमति लिएर औषधि पसल नै सञ्चालन गरेपनि सम्बन्धित व्यक्तिले अर्को व्यक्तिलाई औषधि पसल विक्री गरेको अनुमगनको क्रममा भेटिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका फोकल प्रर्सन एवम् हेल्थ असिस्टेन्ट अमृत कंडेलले एउटाको नाममा औषधि पसल सञ्चालनको अनुमति लिएर अर्कोले सञ्चालन पाइएको बताउनुभयो ।
गैडाकोटको संयुक्त फार्मेसीमा एउटाको नाममा औषधि पसल सञ्चालनको अनुमति लिएर एउटाको नाममा अर्कोले सञ्चालन गरेको, औषधि पसल र फोटोकपी एकै स्थानमा राखेको कारण सचेत गराइएको थियो ।
मुकुन्दपुरको न्यू सदिक्षा उपचार क्लिनिक र रञ्जिता मेडिको सेन्टर संगै रहेकोमा टोलीले रंजिता मेडिको सेन्टरको चेकजांच गरिरहंदा न्यू सदिक्षा उपचार क्लिनिकका सञ्चालक फरार भएका थिए ।
उनले पसल पनि खुल्ला राखेर फरार भएका थिए । उनले अनुगमन टोली आएको थापा पाएपछि मोबाइल समेत अफ गरेर फरार भएका थिए । उनलाई सात दिन भित्र आवश्यक कागजपत्र सहित प्रमाण लिएर उपस्थित हुन सूचना जारी गरिएको छ ।
त्यस्तै कावासोतीको एलजी फर्मा, विना नाममा सञ्चालन गरिएको मेडिकललाई सचेत गराइएको छ । त्यस्तै कावासोती आयु मेडिकल हललाई सात दिन भित्र आवश्यक प्रमाण लिएर जिल्ला स्वास्थ्य कार्यालयमा हाजिर हुन सूचना जारी गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महतोका अनुसार देवचुलीको देवचुली स्वास्थ्य क्लिनिक, १६ नं. चोकको पौडेल मेडिकल हल, सीता मेडिकल हल, रजहरको रजहर फार्मेसी, देवचुली १ केउरानीको भविश्य पोलिक्लिनिक र दिव्य पोलिक्लिनिक नियम अनुसार सञ्चालन भएको पाइएको छ ।
कति छन अवैध क्लिनिक
कति स्वास्थ्य सेवा प्रदायक संस्था संचालनमा छ भनेर नवलपरासीमा कुनै लेखाजोखा छैन । तथापि नवलपरासीमा दुई सयको हाराहारीमा स्वास्थ्य प्रदायक संस्था संचालनमा रहेको छ भने अस्पताल र क्लिनिकको रुपमा सञ्चालनका लागि करिब ४० वटा स्वास्थ्य प्रदायक संस्थाले मात्र अनुमति लिएको छ ।
अहिले पूर्वपश्चिम लोकमार्गको दायांबांया मात्र छड्के चेक गरिएको छ । सडक छेउछाउं बाहेकका क्षेत्रमा कुनै चेकजांच गरिएको छैन । नवलपरासीका यस्ता ग्रामिण क्षेत्र छन् जहां समान्य अहेप, अनमि पढेकाले डाक्टरले सरह काम गर्नु परेको छ । जहाँ राज्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पुराउन सकेका छैनन् । त्यस्ता क्षेत्रमा समान्य औषधि पसल सञ्चालनको अनुमति लिएर, क्लिनिक, विरामी भर्ना सेवा, सामान्य शल्यक्रिया, ओपिडी सेवा समेत सञ्चालन गरेका छन् । ग्रामिण क्षेत्रका बासिन्दाका लागि गाह्रो साह्रो पर्दा अवैध रुपमा सञ्चालन गरिएका भएपनि यस्ता स्वास्थ्य प्रदायक संस्थानै देउता सरह सावित भएर उभिएका पनि छन् । त्यस्तालाई नियम अनुसार सञ्चालन गर्नका लागि प्रोत्साहन गर्न र त्यस्ता क्षेत्रमा सरकारी स्वास्थ्य संस्था र सरकारी स्वास्थ्यकर्मी तथा डाक्टरहरु पुग्न आवश्यक छ ।
के हुन्छ त कारवाही
दुई दिन लगाएर गरिएको अनुमगनको क्रममा ९ वटा स्वास्थ्य प्रदायक संस्थाका विभिन्न सेवा शिल गरिएको छ । त्यसका अलवा ७/८ वटा स्वास्थ्य प्रदायक संस्थालाई सचेत गराइएको छ भने २ वटालाई सात दिन भित्र आवश्यक प्रमाण लिएर हाजिर हुन भनिएको छ ।
नवलपरासीका सहायक जिल्ला अधिकारी माधव ढुङ्गानाले यस्ता स्वास्थ्य प्रदायक संस्थाहरुलाई स्वास्थ्य सेवा ऐन, औषधि व्यवस्था ऐन र कालाबजारी ऐन अनुसार उनीहरुको अपराधको प्रकृति अनुसार कारवाही गरिने बताउनुभयो ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतोले अहिले कागज पत्र नभेटिएका वा अवैध रुपमा सञ्चालन गरिएका स्वास्थ्य प्रदायक संस्थाका विभिन्न सेवाहरुमा शिल गरिएको र उनीहरुले तत्काल आवश्यक कागजात पुरा गरेर नआए ति सेवाहरु सदाका लागि शिल गरिने बताउनुभयो ।



Post a Comment