सहयोग जुटाइदिन परिवारको अपिल
रामकुमार श्रेष्ठ
कावासोती, ८ बैशाख ।
नवलपरासीको मध्यविन्दु नगरपालिका ४ मदनपुर ३६ बर्षीय थानेश्वर भुसाल साउदीको जेलमा परेको झण्डै साढे तीन बर्ष भयो । उनका परिवारले भुसाल छुट्ने आशा पाल्दै संघर्ष गरिरहेका छन् । भुसाल छुट्ने आशामा बसेका उनका परिवार अहिले उनलाई छुटाउन डेढ लाख साउदी रियल अर्थात नेपाली रुपैयां झण्डे ४५ लाख रुपैया“ अदालतले माग गरेको थाहा पाएपछि अहिले हारगुहार माग्दै हिड्न थालेका छन् ।उनलाई दुर्घटनामा लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो। उनले पछिल्लो समय आफ्नी आमालाई चैत्र १२ गते फोन गरेका थिए । थानेश्वरका आमा यमकला भुसालले भनिन् – ‘छोराले ठिकै छ, म चांडै छुट्छु भनेर र त फोन गर्छन्, तर, अहिले साउदी स्थित नेपाली दुताबासमा बुझ्दा डेढ लाख सायदी रियल जरिवाना तोकेको थाहा भयो ।
उनकी दिदी कृष्णमाया भट्टराईले साउदी स्थित नेपाली दुताबासका रेवती पौडेललाई फोन गर्दा साउदी अदालतले उनलाई डेढ लाख रियल जरिवाना तोकेकोले उनको रिहाईका लागि उक्त रकम पठाउन भनेका बताइन् ।
कृष्णमाया भट्टराईले भनिन् –‘यहाँ सबै घरखेत बेचे पनि त्यति रकम जम्मा हुंदैन कसो गर्ने हामी अलमलमा छौं । अब चन्दा उठाउन पर्छ कि भन्ने लागेको छ । समाजका जान्ने सुन्नेले सहयोग गरिदिए हुने थियो ।’
थानेश्वरको परिवारले थानेश्वरलाई छुटाउन पटक पटक पहल गरेपनि छुटाउन नसकेको र अहिले बल्ल कति सजाय सुनाएको थाहा भएको बताएका छन् । उनलाई नेपाल फर्काउनका लागि पहल गरिदिन थानेश्वरको परिवारले आग्रह गरेका छन् र संगै आर्थिक सहयोग जुटाइ दिन पनि उनका परिवारले आग्रह गरेका छन् ।
दुई भाइ दाजुभाइ मध्ये जेठा छोरा थानेश्वर भुसाल साढे ६ बर्ष अघि साउदी गएकोमा झण्डे साढे बर्षदेखि साउदीको जेलमा छन् । भने कान्छो भाइ हिमप्रसाद भुसाल कतारमा चारबर्षदेखि कार्यरत रहेका छन् । भाइ दोस्रो पटक वैदेशिक रोजगारका लागि कतार गएका हुन् ।
२०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए । उनले चलाएको ट्रिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारी साधनमा रहेका र ठक्करबाट धकेलिएको ट्रिपरले अगाडि ठक्कर दिने अर्को सवारी साधनमा रहेका गरी २ जनाको ज्यान गएको थियो ।
थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटनामा पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउँन खोज्दा कम्पनीको साहूले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताइन् ।
पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी अहिले पुन जेल परेको पनि साढे ३ बर्ष भईसकेको छ ।
उनीहरुले सामी परियोजनामा रिहाईका लागि पहल गरिदिन आग्रह गरेपछि सोही अनुसार सामी परियोजना कावासोतीले काम अगाडि बढाएको छ । उनका परिवारले परराष्ट्र मन्त्रालय, साउदीमा रहेको नेपाली दुताबासमा समेत रिहाईका लागि पहल गरिदिन आग्रह गर्दै पटक पटक हारगुहार मागेका छन् । दुताबासले पहल गरिरहेको दुताबासका रेवती पौडेललाई उद्धृत गर्दै उनका आमा यमकला भुसालले बताइन् ।
उनी हसेन हल हर्वीमा काम गर्दथे। कम्पनीले लाइसेन्स नदिएको कारण थानेश्वर भुसाल जेल परेको हुन सक्ने उनीहरुको अनुमान छ । इन्नोभेटिभ मेनपावर कम्पनीबाट विदेश गएका उनलाई कम्पनीले छुटाउन कुनै पहल नगरेको र कम्पनीलाई आग्रह गर्दा अहिले फोन समेत नउठाउने गरेको आमा यमकलाले बताइन् ।
थानेश्वरकी दिदी भट्टराईले मेन पावर कम्पनी र थानेश्वरले काम गर्ने कम्पनी दुवैले छुटाउनका लागि कुनै पहल नगरेको बताइन् ।
उनले आफूले कमाएर पठाएको भन्दा पनि बढी रकम उनको रिहाइका लागि खर्च हुने भएपनि परिवार विचल्लीमा पर्ने देखिएका हुन् । उनले विवाह गरेको केही समयमै विदेश गएका थिए। उनी विदेशमा जेल परेको थाहा पछि उनकी श्रीमतीले दोस्रो विवाह गरेका छन् । उनले साउदीको १८ सय रिलय तलब खाने गर्दथे । दुर्घटनाबाट घाइते भई सन्चो भएपछि र पहिलो पटक जेल मुक्त भएपछि पनि राम्रै कमाएका थिए ।
उनले साउदीमा ट्रिपर चालककै रुपमा काम गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनीसंग नेपालको लाइसेन्स भएपनि साउदीको ड्राइभिड्ड साइसेन्स नभएका कारण थानेश्वर समस्यामा परेका हुन् । थानेश्वरका परिवार थानेश्वरको खोजी र रिहाईको पहल गरिदिन भन्दै सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने संस्था सामी परियोजनादेखि लिएर परराष्ट्र मन्त्रालयसम्म धाएका छन् ।
त्यति मात्र नभएर थानेश्वरलाई विदेश पठाउने मेन पावर कम्पनी इन्नोभेटिभ ह्युमन रिशोर्स डेभ्लब्मेण्ट प्रा.लि.पनि पुगे । कम्पनीले कुनै पहल नगरेको र पछिल्लो समय फोन समेत नउठाउने गरेको आमा यकमलाले बताइन् । उनका परिवार साउदीमा रहेको नेपाली दुताबासको नम्बर खोजेर सोझै सम्पर्क पनि गरेका छन् । दुताबासले थानेश्वरलाई भेट्न उनलाई राखेको जेलसम्म गएपनि भेट्न नदिएको उनले बताइन् ।
रामकुमार श्रेष्ठ । नवलपरासी
फाइल फोटो छ ।

Post a Comment