नवलपरासीका ८ स्थानीय तहमा कुष्ठरोग निवारण अभियान सञ्चालन गरिने
रामकुमार श्रेष्ठ
नवलपरासी । प्रत्येक १० हजार जनसंख्यामा १ वा सो भन्दा कम कुष्ठरोगी भेटिए निवारण भएको मानिने भएपनि नवलपरासीमा १० हजार जनसंख्यामा १ जना भन्दा बढी कुष्ठ रोगी भेटिने गरेको छ ।
गत बर्ष मात्रै नवलपरासीमा ७७ जना नयां कुष्ठ रोगी भेटिएको ती मध्ये २ जना अंगभंग भएको र ४ जना बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
नवलपरासी बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिम गरी १५ वटा स्थानीय तह रहेको नवलपरासीमा ८ वटा स्थानीय तहमा प्रत्येक १० हजारमा १ जनाभन्दा बढी कुष्ठरोगी भेटिएकोले ती ८ वटा स्थानीय तहमा कुष्ठरोग निवारण अभियान सञ्चालन गर्न थालिएको बुधबार कावासोतीमा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
कावासोतीमा मंगलबार र बुधबार गरेर दुई दिन लगाएर जिल्ला स्तरीय कुष्ठरोग निवारण सम्बन्धी कार्यक्रम गरिएको छ । कार्यक्रममा बर्दघाट सुस्तापूर्व नवलपरासी अर्थात नवलपुर जिल्लाका स्थास्थ्यकर्मी, राजनीतिक दल, पत्रकार, सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कुष्ठरोग विशेषज्ञ डा. प्रमोद भट्टराईले नवलपरासीको सरावल गाउंपालिका, गैडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका, रामग्राम नगरपालिका, सुनवल नगरपालिका, सुस्ता गाउंपालिका र प्रतापपुर गाउंपालिकामा कुष्ठरोग निवारण कार्यक्रम सञ्चालन हुने बताए । यि स्थानीय तहमा १० हजार जनसंख्यामा १ भन्दा बढी कुष्ठरोगी भेटिएको उनले बताए ।
उनका अनुसार सरावल गाउंपालिकाम सबैभन्दा बढी प्रतिदशहजारमा ३ दशमलब १७ प्रतिशत कुष्ठरोगी भेटिएका छन् ।
त्यस्तै गैडाकोट नगरपालिकामा २ दशमलब ३, मध्यविन्दु नगरपालिकाम १ दशमलब ६८ प्रतिशत कुष्ठ रोगी भेटिएका छन् । यो तथ्यांक कुष्ठरोग लागेको आशंकामा आफै सोझै स्वास्थ्य संस्थामा चेकजांच गर्न आएको आधारमा भएकोल यो संख्यामा अझै बढी हुन सक्ने अनुमान गरिएको छ ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वका जनस्थास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले अझै पनि यसलाई दैवीश्रापको रुपमा हेर्ने र यो रोग लागेकाले लुकाउने गरेका कारण कतिपय कुष्ठरोगीहरु अझै स्वास्थ्य संस्थाको पहुचमा नआएको बताए ।
उनले यो रोग लागेकाले लुकाउने गरेका कारण यो रोग कतिजनामा छ भनेर पहिचान गर्न ८ वटा स्थानीय तहमा घरघरमा गएर रोगीको पहिचान गरिने बताए ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा पनि कुष्ठरोग निवारण समन्वय कार्यक्रम हुने जनाएको छ । बर्दघाट सुस्ता पश्चिम र बर्दघाट सुस्ता पूर्व दुवै जिल्लालाई समन्वय गरेर कार्यक्रम गरिने जनाइएको छ । कुष्ठरोग नियन्त्रण महाशाखाले नवलपरासी, रुपन्देही लगायतका केही जिल्लामा जिल्ला स्तरीय कुष्ठरोग निवारण कार्यक्रम सञ्चालन गर्न थालेको हो । सोही कार्यक्रम अन्तरगत नवलपरासीमा पनि कार्यक्रम हुन थालेको हो ।
कार्यक्रममा सहभागीहरुले अझै पनि कुष्ठरोगीलाई गाउंघरमै लुकाएर राख्ने, रोगीलाई घरदेखि पर एक्लै राख्ने क्रम रहेको बताएका थिए । कुष्ठरोगीलाई समाजमा हेयको दृष्टिकोणले हेर्ने भएकोले उनीहरु अझै खुलेर आउन नसकेको बताइएको थियो ।
बर्दघाट सुस्ता पूर्व नवलपरासीका स्थानीय समन्वय अधिकारी विजयराज पौडेल, नेकपा एमाले नवलपुरका सचिव नारायण तिमिल्सिना, नेपाली कांग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरे, नेकपा माओवादी केन्द्रका केदार पराजुली, लगायतले कार्यक्रममा धारण राखेका थिए ।
यसैबीच कावासोती १६ डण्डामा रहेको मध्यविन्दु सामुदायिक अस्पतालमा प्रदेश स्तरीय कुष्ठरोग उपचार सम्बन्धी सेवा शुरु हुने भएको छ । प्रदेश ४ का कुष्ठरोगीहरुलाई जुनसुकै किसिमका उपचार निशुल्क प्रदान गर्ने गरी यो सेवा सञ्चालन गर्न लागिएको अस्पतालका अध्यक्ष महेन्द्र पोख्रेले बताए ।
कुष्ठरोगीका विरामीहरुलाई नेपाल सरकारले हरेक स्वास्थ्य संस्थामा निशुल्क औषधि उपचारको व्यवस्था गरेको छ ।
नेपालमा वि.सं. २०६६ साल माघ ५ गते कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि नवलपरासीमा भने अझै कुष्ठरोग निवारण हुन सकेको छैन ।
Post a Comment