नवलपुर । पाँच नम्बर प्रदेशमा रहेका बुद्धसँग सम्बन्धित क्षेत्रको विकास र पर्यटक आकर्षणका लागि बुद्धसर्किट निर्माण हुने भएको छ ।
बुद्धसँग सम्बन्धित ३६ वटा स्थललाई जोड्ने गरी बुद्धसर्किट निर्माण हुने र त्यसमा पर्यटक र भम्रणमा आउने यात्रीको सहजताका लागि मोनोरेल सञ्चालन गर्ने योजना अघि सारिएको पाँच नम्बर प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री एवं सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।
नवनियुक्त भौतिक पुर्वाधार मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता चौधरीको सम्मानमा प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीले आज परासीमा गरेको स्वागत बधाई तथा शुभकामना एवं पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले यो योजना प्रदेशको सवभन्दा ठुलो सम्पत्तिको रुपमा रहने जानकारी दिए ।
गौतम बुद्धको अस्थुधातु रहेको रामग्राम ७ उजैनी स्थित रामग्राम स्तुपमा पनि जग्गा अभावले विकास हुन नसकेको भन्दै मन्त्री चौधरीले स्तुप क्षेत्रमा करिव दुई सय विगाहा जग्गा अधिग्रहण गरेर विकास गर्न लागेको जानकारी दिए ।
यसैगरी पाँच नम्बर प्रदेशका सवै क्षेत्रलाई यातायातसँग जोड्न प्रदेश सरकारले पहाडी राजमार्ग र तराई राजमार्गको अवधारणा पनि अघि सारेको छ । प्रदेश सरकारले यसलाई गौरवको योजना पनि भनेको छ । बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा,रुकम हुदैँ सिस्ने हिमालसम्म पहाडि मार्ग र सुस्तादेखि राजापुरसम्मको तराई राजमार्ग बनाउने गरि प्रदेश सरकार अघि बढेको मन्त्री चौधरीले जानकारी दिए ।
प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीका संयोजक केशव पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Post a Comment