Tuesday, March 20, 2018
फेरि जन्म तिमी (कविता) अर्जुन अविरल
तिमी क्रान्तिको लालदस्ता
बैरी, दुस्मन सिद्धाउन
क्रान्तिको फेटा बाँधेर
अग्रगमन विचार बोकी
बन्दुक बोक्यौ ।
जातीय छुवाछुत, अन्याय, अत्याचार, वर्गीय शोषण
अन्त्यका लागि
युद्ध मोर्चामा होमियौं
तिम्रो विचार, तिम्रो ईमान्दारिता
बन्दुकको संगीनले रोपिँदा पनि
डगमगाएको थिएन।
कायरहरूले तिमीलाई करेन्ट लगाउँदा होस्,
तिमीलाई ना·ै बनाउँदा होस्
या तिम्रो अस्मिता लुट्दा किन नहोस्
क्रान्ति जिन्दावाद भन्न छोडेनौं
क्रान्तिको सपना बुनेर
एक मुठ्ठी भुटेको मकै खाएर,
कैयौ रात एक्लै भएर पनि
भोक, तिर्खा सहेर
परिवार छोराछोरी बिर्सेर
बुढा बुबाआमा छोडेर
आँशु पसिना पियौं ।
परिवार भन्दा देश ठूलो, माया भन्दा क्रान्ति ठूलो
महान् विचार बोकी
बन्दुकको कलममा, रगतको मसि राखेर
क्रान्ति जिन्दावाद लेख्यौं ।
बम, बारूद्ध छलेर, हजारौं गोली निलेर पनि
आफ्नो गन्तव्य छोडेनौं।
तिम्रो त्याग तपस्या, तिम्रो बलिदान
हो तिमीले छोडेर गयौ
तर तिम्रो कदर हुन सकेन
तिम्रो नाम बेचेर ब्याज खान
पल्किएका छन् ब्वाँसाहरू ।
हो तिम्रै नाम बेचेर
साटिरहेका छन् पद
कुर्चिका लागि खोसाखोस्
सत्ताका लागि लडाई
खेलिरहेछन् फोहोरी खेल ।
तिम्रा सहयोद्धाहरू
कति जिउँदै जलाईयो
कैयौ जिउँदै पुरिए
कति तिमी जस्तै सहिद भए
कति त छन् अझै बेपत्ता
हजारौं तिम्रा सहयोद्धाहरू
गास, बासको निम्ति
जिजीविषा बोकेर
पलायन भए परदेशतिर ।
देखिन्छ परिवार तिम्रा बिचल्ली
मोटाएका छन् यहाँ कोही
तिम्रा नाम बेच्ने ठेकेदारहरू ।
त्यसैले
फेरि जन्म
ए क्रान्तिका लालदस्ताहरू ।
हिजो बैरी सिद्धायौ
आफै पनि सिद्धियौ
अब ती धोकेवाजहरूलाई
तिम्रा सपना कुल्चनेलाई
आफ्नो स्वार्थ हेर्नेलाई
छानी छानी सिद्धाउन छ
त्यसैले फेरि आउ
क्रान्तिका लालदस्ताहरू
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment