Thursday, March 22, 2018
वालापन (कविता) शिल्पा लोचन
एकदिन सुटुक्क सोध्नु ल
बगिरहेको त्यो नारायणीलाई
नदीको पानीमा कति हुन्छन्
बालुवाका कणहरू ?
बगरमा थुप्रिने बालुवाका कण
नदीको पानीले मुछेर
बनाएको घर
न तिमीले खेलौना भन्यौ
न मैले बाललिला ठानेँ
समयको हुरीले भत्काउनु अघि नै
भत्काइदिएको भए आफ्नै हातले
सायद सपनाहरूको कहिल्यै
जन्म हुने थिएन
ल्याक्टो चकलेटको खोलको एक छेउ
तिम्रो हातमा
अर्को छेउ मेरो हातमा
तन्केको त्यो लहरलाइ
न तिमीले प्लास्टिक ठान्यौ
न मैले भ्रम मानेँ
दाँतले टोकेर
वा तानेर बेस्मारी टुटाएको भए आफैले
सायद रहरहरूको जन्म पनि
कहिल्यै कहिल्यै हुने थिएन
त्यही चोइटिएको सपनाले त हो
त्यही टुक्रिएको रहरले त हो
बगिरहेको मान्छेहरूको नदीको भेलमा
म पनि एउटा कण भइदिएँ
सोध्नु ल नारायणीलाई
उर्लेको भेलमा कति हुन्छन् बालुवाका कणहरू ?
यो मरूभूमी शहरमा त केवल
बालुवाका कणहरू उडिरहन्छन्
र भेलको लहर बोकेर
बगिरहन्छ मान्छेको नदी मेरो देशमा
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment