गजल
कति सुन्दर हुन्थ्यो जीवन, देखे जति मिल्ने भए
मैंले गीत अनि गजल बनाई लेखे जति मिल्ने भए
संसार आफ्नै वशमा हुन्थ्यो होला सायद मेरो
यस धर्तीमा मैले पाइला टेके जति मिल्ने भए
राख्दिन असीमित चाहनाको भण्डार यो मनमा
पुग्थ्यो खुसी, हत्केलाले सूर्य छेके जति मिल्ने भए
सबै प्रयास हुँदैनन् सार्थक भन्ने थाहा छ मलाई
बेग्लै हुन्थ्यो संसार कल्पित के–के जति मिल्ने भए
बयान गरी साध्य छैन, कति खुसी हुन्थी माऊ
चल्लाहरू, उसले अन्डा सेके जति मिल्ने भए ।

Post a Comment