उनीहरुले शनिबार माछा मार्न गएको भएपनि आइतबार अबेरसम्म सम्पर्कमा नआएपछि खोज्ने क्रममा निकुञ्जले नियन्त्रणमा लिएको खुल्न आएको माझी मुहसर बोटे कल्याण सेवा समिति नवलपरासीका कार्यक्रम संयोजक दीपक बोटेले बताए ।
करिब एक महिना अगाडि माछा मार्ने क्रममा दुई जना बोटेलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएपनि आन्दोलित भएका निकुञ्ज पीडितहरु यस घटनाले थप आन्दोलित हुने भएका छन् ।
दीपक बोटेका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पुर्व) मध्यविन्दु नगरपालिका वार्ड नं. ३ ब्रम्हस्थान बोटेटोल बस्ने ४७ बर्षीय मेघा बोटे र उनका छोरा २४ बर्षीय रेशम बोटेलाई शनिबार बेलुका नारायणी नदीमा माछा मार्ने क्रममा निकुञ्जले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई अमलटारी घाटबाट माछा मार्ने क्रममा निकुञ्जका सेनाहरुले पक्राउ गरी कसरा पु¥याएको जनाएका छन् ।
गत फाल्गुन २३ गते २ जना व्यक्तिलाई पक्राउ गरी कसरा लगेपछि नारायणी नदीमा निर्वाध रुपमा माछा मार्न पाउनु पर्ने, निकुञ्जमा सहज रुपमा सागसिस्नो टिप्न पाउनु पर्ने र आफूहरु बसोबास गर्दै आएको जग्गाको जग्गाधनी लालपूर्जा पाउनु पर्ने माग राख्दै नवलपरासीमा रहेको देखि ७ वटा मध्यवर्ती उपभोक्ता समितिहरुमा तालावन्दी गरी दिएका थिए ।
अघिल्लो पटक पक्राउ परेका दुई जनालाई निकुञ्जले धरौटीमा रिहा गरे पनि उनीहरुले तालाबन्दी भने खोली दिएका छैनन् ।
यसैबीच आइतबार नवलपरासीका प्रतिनिधि सभा सदस्य सांसद तिलक महत र प्रदेश सभा सदस्य सांसद रोशनबहादुर गाहालाई आफ्नो माग सहित उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

Post a Comment