काठमाडौं, ७ जेठ । भारतमा जारी आईपीएलेको यो सिजनमा दिल्ली डेयरडेभिल्सले सुखद् अन्त्य गरेको छ । अन्तिम खेलमा मुम्बई इण्डियन्सविरुद्ध ११ रनले जित हासिल गर्दै दिल्लीले सुखद् अन्त्य गरेको छ ।हारसँगै मुम्बईको प्ले अफमा पुग्ने सपना पनि समाप्त भएको हो । दिल्लीले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि १ सय ६३ रनमा अलआउट भयो । मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिपसँगै अमित मिश्राले समान ३–३ विकेट लिएका थिए । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरेका थिए । १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा क्यैंरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् । त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।
नेपाली खेलाडी सन्दीपको प्रदर्शनलाई हेरेर उनलाई पहिले खेलमा स्थान नदिनु दिल्लीका लागि अहिले पश्चाताप गर्नु बाहेकको विकल्प देखिए । ११ वटा खेल खेल्दासम्म सन्दीप वेन्चमै बसेका थिए । तर, १२ औं खेलमा उनलाई मैदानमा उतारिएको हो । त्यसो त १२ औं खेलमा उनलाई उतार्नुको कारण एउटै थियो– यो अवस्थामा दिल्लीले प्ले अफको सम्भावना गुमाइसकेको थियो ।
यस्तो अवस्थामा सन्दीपलाई मौका दिँदा पनि सन्दीपले निर्भिक भएर किफायती बलिङ गरे । पहिलो खेलमै उनले १ विकेट लिन सफल भएका थिए । त्यसै १३ औं खेलमा मैदानमा उत्रिएका सन्दीपले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । व्यक्तिगत दोस्रो खेलमा मैदानमा उत्रिएका सन्दीपले यो खेलमा पनि लय छाडेनन् विकेट लिन सफल भए ।
लगातार दुई खेलमै विकेट लिएपछि अन्तिम खेलमा पनि सन्दीपले मैदानमा उत्रिने मौका पाए । वक्तिगत तेस्रो खेलमा मैदानमा उत्रिएका सन्दीपले पहिलो ओभरमै विकेट लिए । त्यस्तै १० औं ओभरमा थप दुई विकेट लिँदै दिल्लीका लागि शानदार प्रदर्शन गरे ।
उनले खेलका तीन खेलमध्ये दुई खेलमा दिल्लीले जित हासिल गरेको थियो । यदी पहिलो खेलबाटै सन्दीपलाई मैदानमा उत्रारेको भए दिल्लीको नतिजा अर्कै निस्किने धेरैको अनुमान छ । यद्यपि दिल्ली अघिल्लो चरणमा प्रवेश नगरे पनि विश्व क्रिकेटमा सन्दीपको चर्चा चुलिनु आम नेपालीका लागि गौरवको विषय बनेको छ ।
Post a Comment