शोभा जिसी
गैडाकोट, १ जेठ । नवलपरासीको गैडाकोट नगरपालिका भित्र रहेको अविनाश ह्याचरी र जयश्री फुड्स प्रालिको भवन नक्सा पासमा अनियमितता भएको नेपाल विद्यार्थी संघ नवलपुरले आरोप लगाएको छ ।
नेविसंघले आज गैडाकोटमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।
नेविसंघ नवलपुरका अध्यक्ष राजेश पौडेलले पटक पटक सूचना माग गर्दा पनि नगरपालिकाले नदिएपछि चलखेल भएको आशंका भएको बताए ।
गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले भने घटनाको बारेमा जानकारी आएपछि छानविन भईरहेको र दोषी पाइए कारवाही हुने बताए ।
उनले भने घटनाको छानविन भईरहेकोले छानविनमा असर पर्ने भएकोले सूचना नदिएको हो । दोषी पाइए हामी कारवाही गछौं ।
दोषी भनेर आरोप लगाइएको प्राविधिक फाँटका कर्मचारी लक्ष्मीप्रसाद सोतीले उक्त समयमा नक्सा पासमा रोक लगाइएको भने पनि आधिकारिक रुपमा रोक नलगाइएको र ती दुई संस्थाको नक्सा पहिले नै पास भएको र गएको आर्थिक मसान्तको अन्त्यमा राजश्व मात्र लिएको बताए ।
एक जना कर्मचारीले भने उक्त समय १३, १४ वटा नक्शाको राजश्वस लिइएको छ भने १३, १४ वटा भवनको नक्सा पास भएको छ । ति दुई वटाको मात्र कुरा उठ्नु नै कसरी उठे भन्ने उल्टो आशंकाको विषय भएको बताए ।
नेविसंघले २०७४ असार २६ गते नगरपालिकाले एक सूचना निकालेर साउन २ सम्म नक्सा पास सम्बन्धि सम्पुर्ण काम नहुने भनी जानकारी गराएको भएपनि उक्त समय पछि नक्सा शाखाले अविनाश ह्याचरी प्रा. लि. गैडाकोट नगरपालिका १३ र जयश्री फुड्स प्रा.ली. गैडाकोट नगरपालिका ९ को नक्सा पास गरेको आरोप लगाएको छ ।
नगरपालिकाले भने पूर्व प्रमुख प्रशासकीय अधिकृतले आफ्नो मनोमानी ढंगले नगरकार्यपालिकाको निर्णय वेगर त्यसमाथि दर्ता चलानी पनि नगरी सूचना जारी गरेकोले त्यो सूचनाको वैज्ञानिकता नभएको बताएका छन् ।

Post a Comment