नवलपुर । विप्लव निकट विद्यार्थी संगठनका नवलपुर जिल्ला अध्यक्ष नविन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई गैडाकोट प्रहरीले गैडाकोटबाट नियन्त्रणमा लिएको हो ।
उनलाई सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी नवलपुरका अध्यक्ष नविन खड्कालाई गैडाकोट प्रहरीको नियन्त्रणमा राखिएको छ ।
यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपुर जिल्लाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेकोमा विरोध गर्दै तत्काल नछोडे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।
जिल्ला सेक्रेटरी मंगलसेनद्धारा हस्ताक्षरीत विज्ञप्तीमा ‘पार्टीका निर्दाेष नेता तथा कार्यकर्ता एवंम समर्थकको घरघरमा पुगेर मध्यरातमा छापा मार्ने, धम्काउने तथा परिवारलाई ट्रचर दिने जस्ता क्रियाकलापले शाही शासनकालको झल्को दिएको भन्दै घोर निन्दा गरेको छ ।’ गत शनिबार राती घरमा सुतिरहेको बेला जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) नवलपुरका अध्यक्ष नविन खड्का र पार्टीका समर्थक शिवराज जप्रेललाई गत २० गते प्रहरीले गिरफ्तार गरेको थियो ।
नेकपाले अनावश्यक धरपकड बन्द गर्न तत्काल अनुरोध गरेको छ । यसैगरी यता विद्यार्थी अध्यक्ष खड्काको रिहाईको अपिल गर्दै अखिल –क्रान्तिकारी) लुम्बिनी समन्वय समितिले समेत विज्ञप्ती निकालेर गिरफ्तारको विरोध गरेको छ ।

Post a Comment