जेष्ठ २, काठमाडौँ — बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाहुन खर्कमा फेला परेको छ । जहाजमा रहेका दुवै चालकको मृत्यु भएको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ ।
घटनास्थलमा पुगेका प्रहरीले दुवै जनाको शव फेला परेको जानकारी दिएकाछन् । स्थानीय पत्रकार राजन रावतका अनुसार पहिला क्याप्टेनको शव फेला परेको थियो। को पाइलटको भने घटनास्थलबाट केही पर शव फेला परेको थियो।
९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले उडाएका थिए।यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको अपुष्ट सूचना आएको बताएका थिए।
यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि हुम्लाकोअदानचुली-५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारी आएको बताएका थिए।
यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो। यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए।
यो कार्गो जहाज हो। त्यसो त यो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो।

Post a Comment